रञ्जु थापालाई पहिलो महिला एनआरएन प्रवक्ता बन्न प्रस्ताव, अनुमोदन बाँकी
एनआरएन अभियानमा क्रियाशील अष्ट्रेलियाकी रञ्जु थापालाई प्रवक्ताको रुपमा प्रस्ताव गरिएको छ । हालै बसेको एनआरएन पदाधिकारीको बैठकमा अध्यक्ष शेष घलेले क्रियाशील व्यक्तित्वहरु नछुटुन् भन्ेन उद्देश्यका साथ थापालाई प्रस्ताव गर्नुभएको थियो । यसमा केही पदाधिकारीहरुको असन्तुष्टी रहेको बुझिएको छ । केही पदाधिकारीले भर्खरै निर्वाचन सकिएको छ र निर्वाचनबाट पराजित उम्मेद्वारलाई ल्याउँदा राम्रो सन्देश नजाने प्रतिक्रिया दिएका थिए । तर, अध्यक्ष घलेले आफ्नो तर्फबाट प्रस्ताव गरिएको र यसलाई आगामी नोभेम्बर १४ तारिखमा हुने पूर्ण बैठकमा अनुमोदनका लागि लैजाने तयारी गर्नुभएको छ । यस विषयलाई पुष्टि गर्दै थापाले एमएनटीभीसँग भन्नुभयो, “मलाई स्वयं शेष दाईले नै प्रस्ताव गर्नुभएको हो । काम गर्नका लागि खासै पद नै त चाहिँदैन । तर, मैले नाईं भनिनँ ।” एनआरएनको अभियानमा महिला सहभागितालाई जोड दिँदै आउनुभएकी थापाले सातौं विश्व सम्मेलनमा महासचिव पदमा पराजय व्यहोर्नु परेको थियो । पराजयलाई स्वाभाविक रुपमा लिएको र समूदायको सेवाका लागि लागिरहने भन्दै थापाले नेतृत्व तहमा महिलाहरुलाई पुर्याएको भए हुन्थ्यो भन्ने प्रतिक्रिया दिनुभएको छ । एनआरएन सम्मेलनभन्दा केही साता अघि नै नेपाल पुग्नुभएकी थापा यतिबेला नेपालका विभिन्न पर्यटकीय स्थलमा घुमिरहनुभएको छ । तिहार लगत्तै भारत हुँदै अष्ट्रेलिया फर्कने कार्यक्रम रहेको जानकारी पनि थापाले गराउनुभएको छ । थापा प्रवक्ता नियुक्त भएको अवस्थामा पहिलो एनआरएन महिला प्रवक्ताको रेकर्ड थापाको नाममा रहनेछ ।