पर्थमा भव्य पशुपतिनाथ मन्दिर र बौद्धनाथ स्तुपा बनाउने अभियानका लागि देउसी भैलो
आगामी दुई वर्षभित्र पर्थमा भव्य पशुपतिनाथ मन्दिर र बौद्धनाथ स्तुपा निर्माण गर्नका लागि देउसी भैलो खेली आर्थिक संकलन गरिएको छ । गत एकवर्षअघि बाट सुरु गरिएको यो अभियान यतिबेला तिव्रताका साथ चलिरहेको छ । यसका लागि पर्थमा रहेका २ सय घरधुरी नेपालीहरुकोमा पुगी देउसी भैलो खेल्ने कार्यक्रम चलिरहेको छ । स्थानीय समूदायका अगुवाहरुको पहलमा एक वर्षअघि सुरु गरिएको अभियान अन्तर्गत अर्को वर्ष जग्गा खरिद गर्ने र त्यसको एक वर्षमा मन्दिर बनाउने कार्य सम्पन्न हुनेछ । पर्थको नेपाली समूदायका अगुवा भैरव ढकालले एमएनटीभीसँग कुरा गर्दै भन्नुभयो, “झण्डै ५ मिलियन डलरमा बन्ने पशुपति मन्दिर र बौद्धनाथ स्तुपाको निर्माणमा नेपालबाटै कालीगढ ल्याएर बनाउने योजना छ । अहिले यसका लागि चाहिने काठका टुंडाल लगायतका सामग्री नेपालमा बनिरहेका छन् । नेपालमा बनेको मन्दिरलाई यहाँ ल्याएर जडान गरिनेछ ।” मन्दिर निर्माणको निम्ति गठन गरिएको समितिमा यादव शर्मा अध्यक्ष हुनुहुनछ भने उपाध्यक्षमा विष्णु देवकोटा, सचिवमा शरण कोइराला, सहसचिवमा गणेश घिमिरे, कोषाध्यक्षमा विनोद दाहाल हुनुहुन्छ भने १० सदस्यीय सल्लाहकार समूह पनि रहेको छ । समितिले मन्दिरको निम्ति आर्थिक संकलन गर्न हरेक वर्ष चार कार्यक्रम गर्ने योजना बनाएको छ । पर्थमा मात्र नभई अष्ट्रेलियाकै विभिन्न शहरहरुमा समेत यी कार्यक्रम गरिनेछन् । ढकालले भन्नुभयो, “यति मात्र होइन, नेपालका प्रतिष्ठित व्यापारीहरुले पनि सहयोगको आश्वासन दिनुभएको छ । यो हाम्रो आस्थाको धरोहर बन्नेछ । मन्दिर र स्तुपा मात्र नभएर उक्त स्थानमा सामूदायिक हल समेत हुनेछ जहाँ नेपालीका कार्यक्रमहरु गरिनेछ । मन्दिर परिसर र सामूदायिक हललाई पूर्णतः मदिरा, मांश निषेधित क्षेत्र बनाउने योजना पनि छ ।” गत साता दुई दिन मात्रैको कार्यक्रमबाट ७ हजारभन्दा बढी आर्थिक संकलन भइसकेको छ ।