ल्यायो एनआरएन अष्ट्रेलियाले भारतीय नाकाबन्दीविरुद्ध विरोधका कार्यक्रम


NRN LOGOनेपालमा दुई महिनादेखि भारतले अघोषित रुपमा नाकाबन्दी गरी जनजीवन कष्टकर बनाएको विरोधमा एनआरएन अष्ट्रेलियाले विविध कार्यक्रम गर्ने भएको छ । एनआरएन अष्ट्रेलियाको राष्ट्रिय समन्वय परिषद्को शनिबार सम्पन्न बैठकले आन्दोलनका कार्यक्रमहरु तय गरेको जानकारी गराएको छ । अध्यक्ष सुरेन्द्र सिग्देलको अध्यक्षतामा भएको बैठकले गरेका निर्णयबारे जानकारी गराउँदै सचिव टोनु घोतानेले भने, “हामी नेपालमा जुन किसिमको अमानवीय काम भारतले गरेको छ त्यसका बारेमा विश्व समूदायलाई अवगत गराउन चाहन्छौं । भूपरिवेष्ठित देश नेपाललाई यस किसिमको नाकाबन्दी गर्ने अधिकार कसैलाई पनि छैन ।” घोतानेका अनुसार नोभेम्बर २० तारिख साँझ ५ः३० बजे शान्तिपूर्ण विरोध प्रदर्शन गरिने भएको छ । यस्तो प्रदर्शन अष्ट्रेलियाका सबै राज्यमा एकै समयमा गरिने घोतानेको भनाई छ । यस्तै एनआरएनले हस्ताक्षरसहित सबै राज्यमा रहेका भारतीय महावाणिज्यदूतको कार्यालयमा विरोधपत्र बुझाउने पनि तयारी गरेको छ । एनआरएन अष्ट्रेलियाका कोषाध्यक्ष डीला खरेलका अनुसार ज्ञापनपत्र लेखनका लागि अध्यक्ष सुरेन्द्र सिग्देल, सचिव टोनु घोताने, प्रवक्ता डा. ज्ञानेन्द्र रेग्मी र कोषाध्यक्ष डीला खरेल सम्मिलित टास्क फोर्स समेत बनाएको छ । एमएनटीभीसँग कुरा गर्दै कोषाध्यक्ष खरेलले भन्नुभयो, “हरेक राज्यमा विभिन्न नेपाली समूदायका संघ संस्थाको सहकार्यमा हस्ताक्षर संकलन गरिनेछ । यसरी संकलित हस्ताक्षर र ज्ञापनपत्र सहित २७ नोभेम्बरका दिनभित्र राज्यहरुमा रहेका वाणिज्यदूतको कार्यालयमा बुझाइनेछ ।” नेपालमा भारतले गरेको नाकाबन्दीका कारण औषधिको अभाव भएको, पेट्रोलियम पदार्थको अभावमा विद्यार्थीले शिक्षाबाट समेत बञ्चित हुनुपरेको, भूकम्प पीडितहरु अझ बढी प्रताडित बनेको र नेपालमा चीसो मौसम सुरु हुन लाग्दा गरिएको यस कार्यका विषयमा अष्ट्रेलियाको विदेश मन्त्रालयमा समेत ध्यानाकर्षण गर्ने योजना एनआरएन अष्ट्रेलियाले बनाएको छ । साथै उसले लेबर र लिबरल पार्टीलाई समेत भारतीय नाकाबन्दीको विषयमा अवगत गराउन उच्चस्तरी भेटघाट गर्ने भएको छ । यस्तै बहुसांस्कृतिक मुलुक अष्ट्रेलियामा रहेका नेपालका छिमेकी देशहरुका यहाँस्थित समूदायमा समेत भारतीय दोहोरो नीति र नाकाबन्दीका बारेमा जानकारी गराउने योजना एनआरएन अष्ट्रेलियाले बनाएको छ । यसपछि पनि स्थितिमा सुधार नभए अष्ट्रेलियामा रहेको संयुक्त राष्ट्रसंघको कार्यालय, रेडक्रस, एमनेष्टी ईन्टरनेशनल लगायतका अन्तर्राष्ट्रिय संस्थालाई समेत यस विषयमा ध्यानाकर्षण गराउँदै नेपालको विषयमा अवगत गराउने योजना छ । बैठकले गरेका निर्णयबारे जानकारी दिँदै कोषाध्यक्ष खरेलले भन्नुभयो, “हामी क्यानबेरा पुगेर भारतीय दूतावासमा पनि ज्ञापन पत्र दिनेछौं । यो शुक्रबारको शान्तिपूर्ण प्रदर्शनमा सहभागी हुन हामी अष्ट्रेलियाको सिड्नीसहित सबै राज्यमा रहनुभएका नेपाली समूदायका सदस्यहरुलाई आग्रह गर्दछौं । प्रदर्शन गर्ने ठाउँको विषयमा हामी फेरि जानकारी दिनेछौं ।”

देशवासीलाई समस्या परेको बेलामा पनि केही नगरी बसेको, तदारुकताका साथ कार्यक्रम गर्न नसकेको विषयमा अष्ट्रेलियामा रहेका नेपाली समूदायका सदस्यहरुले प्रश्न उठाएकोबारे एमएनटीभीमा समाचार प्रकाशित भएपछि एनआरएन अष्ट्रेलियाले तत्कालै बैठक बसी यस्तो निर्णय गरेको हो ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?