आक्रमणमा आइएसकै हात रहेको प्रमाणित
यसैबीच पेरिसमा भएको सो हमलामा मुस्लिम अतिवादी समूह आइएसकै सम्लग्नता प्रमाणित भएको छ । फ्रान्सले गरेको अनुमानसरह नै अमेरिकाले पनि सोही तथ्य बाहिर ल्याएको हो । अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसले शनिबार जनाएअनुसार सो सूचनामा कुनै विरोधाभास नदेखिएको बताइएको थियो । पछि सोही सूचना प्रमाणित भएको उक्त कार्यालयले जनाएको छ । अमेरिकाको राष्ट्रिय सुरक्षा परिषद्ले गरेको एक स्वतन्त्र अनुसन्धानबाट यो अवस्था देखिएको बताइएको हो । अनुगमनबाट उक्त आईएस समूहले नै आक्रमण गरेको हुनसक्ने प्रमाणहरु भेटिएका हुन् । शुक्रबारको सो आक्रमणमा उक्त अतिवादी समूहको हात रहेको जानकारी फ्रान्सेली राष्ट्रपति फासाँ अल्याण्डले नै सार्वजनिक गर्नुभएको हो । शुक्रबार भएका शृङ्खलाबद्ध यी आतङ्ककारी हमलाहरुमा परी कम्तीमा पनि १३२ जनाको ज्यान गइसकेको छ भने अरु ३४९ जना घाइते भएका छन् । विदेशी भूमिबाट आएका आठजना आतङ्ककारी सो आक्रमणमा प्रत्यक्ष संलग्न देखिएको फ्रान्सेली सुरक्षा निकायले निष्कर्ष निकालेको बताइएको छ । फ्रान्सेली सुरक्षा निकायले इस्लामिक लडाकूको संलग्नताका प्रमाणहरु भेटेको जनाएको छ । फ्रान्सेली सुरक्षा निकायले आक्रमणमा संलग्न छ जना मारिएको पनि जनाएको छ । आक्रमणमा संलग्न एकजनाको साथबाट सिरियाली पासपोर्ट भेटिएको र सोही प्रमाणका आधारमा पनि धेरै कुराको खोजी गरिएको जनाइएको हो । तर सुरक्षाका हिसाबले उसको पहिचान भने खुलाइएको छैन ।