भ्रष्ट गणेश थापालाई जोगाउने अख्तियारको यस्तो स्पष्टीकरण
अन्तर्राष्ट्रिय फुटबल महासङ्घ ‘फिफा’द्वारा अखिल नेपाल फुटबल सङ्घ(एन्फा)का अध्यक्ष गणेश थापामाथि हालै गरिएको कारबाही सन्दर्भसँग गाँसेर सञ्चार माध्यमले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई समेत लक्षित गर्दै प्रकाशित प्रसारित समाचारप्रति आयोगले आफ्नो ध्यानाकर्षण भएको जनाएको छ । आयोगका प्रवक्ता कृष्णहरि पुस्करले जारी गर्नुभएको विज्ञप्तिमा ‘फिफा’द्वारा थापा विरुद्ध गरिएको पछिल्लो कारबाही प्रकरण सन् २००९ र २०११ मा ‘फिफा’ कार्य समिति निर्वाचनमा एसियाली प्रतिनिधि चयन गर्दा निजले गरेको अनियमिततामाथि केन्द्रित रहेको आयोगले स्पष्ट गरेको छ । आयोगमा पटक पटक परेका उजुरी निवेदन एवम् सम्मानित संसद्को सार्वजनिक लेखा समितिले विभिन्न १६ वटा विषयवस्तु निर्धारण गर्दै गत वर्षको आश्विन दोस्रो साता छानबिनका लागि लेखी पठाए बमोजिम एन्फा अध्यक्ष थापामाथि आयोगले छानबिन गरेको आयोगले जनाएको छ । विज्ञप्तिमा भनिएको छ, “सार्वजनिक लेखा समितिद्वारा निर्धारित विषयवस्तु एवम् आयोगमा प्राप्त अन्य उजुरीमाथिको विस्तृत एवम् गम्भीर अनुसन्धान र छानबिनद्वारा लेखा समितिबाट समेत औँल्याइएका विषय तथा अन्य उजुरीका हकमा अनियमितताको तथ्यगत पुष्टि हुन नसकेपछि आयोग ती उजुरी तामेलीमा राख्ने निष्कर्षमा पुगेको वास्तविकता पुनःस्मरण गराउन चाहन्छाँै ।”
आयोगको तामेली निर्णय नै कुनै पनि उजुरीमाथिको अन्तिम निर्णय नभएको जानकारी दिँदै पुनः प्राप्त हुने कुनै प्रमाणका आधारमा पनि तामेली उजुरीलाई आयोगले पुनः छानबिन एवम् अनुसन्धानको दायरामा ल्याउन सक्ने आयोगले जनाएको छ । अध्यक्ष थापाका छोरा गौरव थापाले मलेसियामा प्राप्त गरेको भनिएको एक लाख डलर रकमको प्रश्नको विषयमा सम्पत्ति शुद्धीकरण विभागको अनुसन्धान एवम् छानबिनको दायरामा पर्ने भएकाले यस आयोगले हालका आयोग पदाधिकारीको बहालीपूर्व नै विसं २०६९ साउन २१ गते नै निर्णय गरी सम्पत्ति शुद्धीकरण विभागलाई आवश्यक कारबाहीका लागि लेखी पठाइएको आयोगले स्पष्ट पारेको छ । ‘फिफा’ निर्वाचनका क्रममा अध्यक्ष थापाले गरेको भनिएको अनियमितताको विषय र हाल आयोगले अध्यक्ष थापा सम्बद्ध फिफाका निर्णय एवम् वस्तुगत प्रमाण सङ्कलन गरिरहेको र सो विषय आयोगको क्षेत्राधिकारभित्र पर्ने भएका खण्डमा छानबिन एवम् अनुसन्धान कार्यलाई तीव्रताका साथ अघि बढाउन आयोगले कुनै कसर बाँकी नराख्ने आयोगले जनाएको छ ।