अन्तर्राष्ट्रिय हात्तीपोलोमा अष्ट्रेलियन टोलीलाई पराजित गर्दै टाइगर टप्स टस्कर विजयी
नवलपरासीको अमलटारीमा जारी ३४औँ अन्तर्राष्ट्रिय हात्तीपोलो प्रतियोगिताअन्तर्गत भएको खेलमा घरेलु टोली टाइगर टप्स टस्कर विजयी भएको छ । अस्ट्रेलियाको पुक्का चुक्काससँग ६–४ को अन्तरले टस्कर विजयी भएको हो । त्यस्तै, इङल्याण्डको दी रस्टी कुर्किसले श्रीलङ्काको गाल ओएलाई ९–४ को अन्तरले पराजित गरेको छ भने अर्को खेलमा इएफजी स्विजरल्यान्डले अमेरिकाको सिआइएच सेन्टपल ग्रिफिन्सलाई ११–६ को गोल अन्तरले हराउँदै विजयी भएको छ । थारू टाइगरलाई १३–६ को अन्तरले पछि पार्दै ट्रिग्रिसिस अरेबिया विजयी भएको छ । हात्तीमाथि बसी माहुतेको पछाडि खेलाडी रहेर हात्तीले खेल्ने यो खेलमा घरेलु दुई समूहसहित आठ समूह सहभागी छन् । लिग चरणको खेल आज सकिने आयोजक टाइगर टप्स होटलका प्रशासकीय प्रबन्धक रामसिंह गुरुङले जानकारी दिनुभयो । यही मङ्सिर ११ गतेसम्म चल्ने यो खेल नेपालमा मात्र हुने अन्तर्राष्ट्रिय खेल हो । यो खेलका लागि यो मौसममा हात्तीहरूलाई खेल खेलाउन सजिलो भएकाले टाइगर टप्सले सन् १९८२ देखि चितवन राष्ट्रिय निकुञ्ज क्षेत्र मेघौलीबाट हात्तीपोलो खेल सुरु गरेको थियो । गएको तीन वर्ष बर्दियामा यो खेल भएको थियो । यस वर्षदेखि नवलपरासीको पर्यटकीय गाउँ थारू होमस्टे अमलटारीस्थित गुन्द्रही ढकाहा मध्यवर्ती सामुदायिक वनको चौरमा भएको छ । यो खेल हेर्नका लागि आउने विदेशी पाहुनाले यहाँका होटल खचाखच भएका छन् भने स्वदेशी पाहुनाले होमस्टे भरिएका छन् । अन्तर्राष्ट्रिय स्तरको हात्तीपोलो खेल यहाँ सुरु भएपछि तीन दिनदेखि पाहुनाको चाप बढेको अमलटारी थारू होमस्टेका अध्यक्ष प्रेमशङ्कर मर्दनियाले बताउनुभयो । फाइनल खेलको दिन मङ्सिर ११ गते अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका पत्रकारसमेत आउने नवलपरासीस्थित टाइगर टप्स होटलका प्रबन्धक डिबी चौधरीले बताउनुभयो ।