जर्किनमा पेट्रोल ल्याएको भन्दै मोर्चाका कार्यकर्ताले जिउँदै जलाउन खोजेका बब्लु राजवंशीको उपचार हुँदै


Rss_Images_1448541678481_YP-Itahari- Rajbanshi-upacharसंयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ताले जर्किनको पेट्रोल छर्केर आगो लगाइदिँदा एक जना गम्भीर रूपले जलेका छन् । मोरङ भातिगछ–७ बस्ने २८ वर्षीय बब्लु राजवंशी जलेर घाइते भएको जिल्लाको प्रहरी कार्यालय मोरङले जनाएको छ । उनको दुईटै घुँडा तथा छाती जलेको छ । गम्भीर अवस्थामा उनलाई धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारार्थ भर्ना गरिएको छ । जर्किनमा पेट्रोल राखी को१प २४५० नम्बरको मोटरसाइकलबाट आइरहेको समयमा भातिगछ–२ मा मोर्चाका तीन जना कार्यकर्ताले जर्किनमा छुराले प्रहार गरेका थिए । छुरा प्रहारबाट पेट्रोलको केही अंश राजवंशीको शरीरमा परेपछि सो घटना भएको प्रहरी नायब उपरीक्षक प्रमोद खरेलले जानकारी गराउनुभयो । आगजनी गर्ने स्थानीय अजय साह, जुगेश्वर मुखिया र जितेन्द्र मुखियाको संलग्नता पुष्टि भएको र उनीहरूको खोजी भइरहेको उहाँले बताउनुभयो ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?