क्रिकेट प्रशिक्षक दासाानायकेको विदाई, भन्छन्, नेपाललाई विर्सन सक्दिन
नेपाली क्रिकेटका राष्ट्रिय प्रशिक्षक पुवुदु दासानायकेलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले बिदाइ गरेको छ । राखेपमा आयोजित कार्यक्रममा उहाँलाई बिदाई गर्दै राखेपका सदस्यसचिव केशवकुमार विष्टले नेपाली क्रिकेट विकास, सफलता र खेलाडी उत्पादनमा दासानायकेको योगदानको प्रशंसा गर्दै उहाँको योगदानको नेपाल सरकार, राखेप र समस्त खेल क्षेत्रले सदा स्मरण गरिरहने बताउनुभयो । प्रशिक्षक दासानायकेले नेपाली क्रिकेटको भविष्य राम्रो रहेको भन्दै नेपाली खेलाडीमा भएको खेल भावनाले एक दिन नेपाली क्रिकेटलाई उच्च विन्दुमा पु¥याउन सक्ने बताउनुभयो । सन् २०११ को सेप्टेम्बरदेखि नेपाली क्रिकेट टोलीको प्रशिक्षक भएर करिब चार वर्ष यहाँ बिताउनुभएका दासानायकेको नेपाली क्रिकेटको विकासमा विशेष योगदान छ । उहाँकै नेतृत्वमा नेपाली टोलीले बङ्गलादेशमा पहिलोपटक टि–ट्वेन्टी विश्वकपसमेत खेल्ने अवसर प्राप्त गरेको थियो । साथै, नेपालले उहाँकै प्रशिक्षक डिभिजन –४ बाट उक्लेर डिभिजन –१ सम्मको यात्रा तय गर्न सफल भएको थियो । दासानायकेको करार अवधि डिसेम्बरसम्म रहेको भएपनि विभिन्न कारण देखाउँदै उहाँले केही समयअघि राजीनामा दिनुभएको थियो । उहाँ शनिबार स्वदेश फर्कने कार्यक्रम रहेको छ ।