ज्याभ्लिन थ्रोमा चन्द्रकलाको नयाँ कीर्तिमान


javlinनेपाल प्रहरी क्लबकी चन्द्रकला लामाले महिलाको ज्याभ्लिन थ्रोमा नयाँ राष्ट्रिय कीर्तिमान कायम गरेकी छिन् । भारतमा हुने आसन्न १२ औँ दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) का लागि एथलेटिक्स खेलाडी छनोट गर्न आयोजित प्रतियोगितामा चन्द्रकलाले ४३.९० मिटर टाढा फाल्दै नयाँ कीर्तिमान कायम गरेकी हुन् । यसअघि सीमाकुमारी थारुको नाममा ४३.७० को कीर्तिमान थियो । एपिएफ क्लबकी सीमाले गत भदौमा भएको थाइल्यान्ड ओपनका लागि खेलाडी छनोट गर्न आयोजित प्रतियोगितामा उक्त कीर्तिमान बनाएकी थिइन् । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा भएको उक्त प्रतियोगितामा सीमाले (४०.२४ मिटर) दोस्रो स्थानमा चित्त बुझाइन् भने आर्मीकी सीता शाही (३५.२७ मिटर) तेस्रो भइन् । सोही स्पर्धाको पुरुषमा नेपाल आर्मी क्लबका धीरेन्द्रजग शाह (५८.८५ मिटर) पहिलो, आर्मीकै रामबहादुर कुमाल (५४.२२ मिटर) दोस्रो तथा नेपाल प्रहरीका नरेन्द्रजङ्ग शाह (५१.७६ मिटर) तेस्रो भए । हाइजम्पको पुरुषमा आर्मीका प्रेम सिंह १.८५ मिटर जम्प गर्दै पहिलो भए । आर्मीकै सूर्य खत्री दोस्रो तथा प्रहरीका गोपाल चौधरी तेस्रो भए । उक्त स्पर्धाको महिलामा १.५१ मिटर जम्प गरेकी एपीएफकी शिला चौधरी पहिलो भइन् । प्रहरीकी वर्षा भट्टराई दोस्रो र आर्मीकी प्रभा चौधरी तेस्रो बने । पुरुष ८ सय मिटर दौडमा आर्मीका सोम कुमाल पहिलो भए । उनले निर्धारित दूरी १ मिनेट ५६ सेकेन्डमा पूरा गरे । आर्मीका मुक्तिबहादुर खड्का दोस्रो र जीवन चौधरी तेस्रो भए । सो स्पर्धाको महिलामा आर्मीकी सरस्वती भट्टराई २ मिनेट १५.५ सेकेन्ड समय खर्चदै शीर्ष स्थानमा रहिन् । एपीएफकी फुलमती राना दोस्रो र आर्मीकी लक्ष्मी पाण्डे तेस्रो स्थानमा रहे । पुरुष एकसय मिटर दौडमा एपिएफका यामसाजन सुनार १०.६ सेकेन्डका साथ पहिलो भए । एपिएफकै आशिष चौधरी दोस्रो र आर्मीका मीनबहादुर चौधरी तेस्रो भए । सो स्पर्धाको महिलामा एपिएफकी सरस्वती चौधरी पहिलो भइन् । सरस्वतीले निर्धारित दूरी १२.५ सेकेन्ड पार गरिन् । त्यसैगरी पुरुष पाँच हजार मिटर दौडमा आर्मीका हरिकुमार रिमाल पहिलो भए । उनले दौड सकाउन १५ मिनेट १५.९३ सेकेन्ड समय लगाए । एपिएफका गोपिचन्द्र पार्की दोस्रो र आर्मीका लालबहादुर थापा तेस्रो भए । सोही स्पर्धाको महिलामा आर्मीकी विश्वरुपा बुढा पहिलो भइन् । विश्वरुपाले १८ मिनेट ०४.९ सेकेन्डमा दूरी तय गरिन् । काठमाडौंकी सन्तोषी श्रेष्ठ दोस्रो र आर्मीकी सानुमाया कार्की तेस्रो बने । छनोट शनिबारसम्म चल्नेछ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?