अष्ट्रेलियाको संसद अगाडि नेपाली समूदायको आज अर्को प्रदर्शन, मधेशका माग पूरा गर्न माग
क्यानबेरामा संसद भवन अगाडि आज अष्ट्रेलियाका तीन संस्थाले प्रदर्शन गरेका छन् । नेपालमा चलिरहेको मधेशी आन्दोलनको समर्थनमा र नेपाल सरकारलाई दबाब दिने उद्देश्यले कार्यक्रम गरिएको हो । नेपालमा सयदिनभन्दा बढीदेखि आन्दोलन हुँदा पनि आन्दोलनकारीको मागमा सरकार गम्भीर नभएको र भारतलाई दोष लगाएको भन्दै उनीहरुले आन्तरिक समस्याको समाधान आन्तरिक रुपमै गर्नुपर्ने पनि बताएका छन् । नेपाली संघीय समाज अष्ट्रेलियाका अध्यक्ष गणेश तामांगले एमएनटीभीसँग कुरा गर्दै भारतलाई आरोप लगाउनुभन्दा आन्दोलनलाई साम्य बनाउनुपर्ने बताउनुभयो । तामांगले नेपालीको समस्या समाधान गरेपछि पनि भारतले नाकाबन्दी कायमै राखे त्यसपछि मात्र भारतसँग कुरा गर्न सकिने बताउनुभयो । “अन्यथा, यो नेपाल र भारतको सदियौंदेखिको सम्बन्धलाई विगार्ने काम मात्र हुनेछ”, तामांगको भनाई छ ।
संसद भवन अगाडि धर्ना दिँदै विभिन्न प्लेकार्डसहित प्रदर्शन गरेका उनीहरुले प्रधानमन्त्रीको कार्यालय, विपक्षी दलको कार्यालय र संयुक्त राष्ट्रसंघको अष्ट्रेलियास्थित कार्यालयमा ज्ञापनपत्र बुझाएर नेपालको आन्दोलनका विषयमा ध्यानाकर्षण गराउने कार्यक्रम छ । प्रदर्शनमा नेपाल तराई एशोसिएसन, नेपाली संघीय समाज अष्ट्रेलिया, नेपाली आदिवासी जनजाति महासंघ अष्ट्रेलिया निन्फाको सहभागिता रहेको छ ।