उत्तरपश्चिम पाकिस्तानमा विस्फोटबाट मृत्यु हुनेको सङ्ख्या २६ पुग्यो


pakistanउत्तरपश्चिम पाकिस्तानको पराचिनार सहरको बजार इलाकामा आइतबार भएको बम विस्फोटनमा परी मृत्यु हुनेको सङ्ख्या २६ पुगेको समाचार छ । अफगानिस्तान र पाकिस्तानको सीमा क्षेत्रमा पर्ने सो इलाकामा भएको यस बम विस्फोटनमा परी आइतबार नै १७ जनाको ज्यान गएको थियो । त्यस घटनामा घाइते भएकामध्ये सात जनाको अस्पतालमा नै ज्यान गएको हो । साथै यसमा परी थप ४५ जना अहिले पनि घाइते नै छन् । घाइतेमध्ये केहीको अवस्था चिन्ताजनक भएको हुनाले मृतकको सङ्ख्या अझै बढ्न सक्ने अधिकारीहरूले अनुमान गरेका छन् । स्थानीय उर्दू टेलिभिजन च्यानल जिओले अझै पनि कैयौँ नागरिक अस्पतालमा नै निकै गम्भीर अवस्थामा उपचार गराइरहेको जनाएको छ । बजार इलाकाको एक पसलभित्र स्थानीय समयाअनुसार आइतबार अपराह्न सो बम विस्फोटन गराएको बताइएको छ । पराचिनार बजार इलाकामा भएको यस विस्फोटनको समयमा ठूलो सङ्ख्यामा व्यक्तिहरू किनमेलमा व्यस्त रहेका प्रत्यक्षदर्शीले सञ्चार माध्यमलाई बताएको छ । यस आक्रमण संलग्न रहेको आशङ्कामा दुई सदिग्ध व्यक्तिलाई पक्राउ गरिएको प्रहरी स्रोतले जानकारी दिएको छ । हालसम्म यस आक्रमणको कुनै पनि समूहले जिम्मा लिएको छैन । पाकिस्तानका प्रधानमन्त्री नवाज सरिफ र राष्ट्रपति ममनून हुसेनले यस आक्रमणको निन्दा गर्नु भएको छ । घाइते व्यक्तिहरूको राम्रो उपचारको बन्दोबस्त मिलाउनको लागि प्रधानमन्त्री सरिफले सम्बन्धित अधिकारीहरूलाई आदेश दिनुभएको छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?