थपिए चार मन्त्री, एकनाथ ढकाल विनाविभागीय मन्त्री
प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिमण्डल विस्तार गरी केही मन्त्रालयको जिम्मेवारीमा हेरफेर समेत गर्नुभएको छ । नयाँ नियुक्त हुनुभएका चार मन्त्रीमा दीपक बोहरा(श्रम तथा रोजगार), प्रेमबहादुर सिंह(खानेपानी तथा सरसफाइ), एकनाथ ढकाल (बिना विभागीय) र शिवलाल थापा (विज्ञान तथा प्रविधि) रहनुभएको छ । आजै राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित विशेष समारोहमा उहाँहरुलाई पद तथा गोपनीयताको शपथ गराउनुभयो । बोहरा राप्रपा, सिंह समाजवादी जनता पार्टी, ढकाल नेपाल परिवार दल र थापा जनमुक्ति पार्टी(लोकतान्त्रिक)बाट प्रतिनिधित्व गर्नुहुन्छ । त्यस्तै कार्यभार पछि तोकिने गरी नेकपा(एमाले)बाट दिनेशचन्द्र यादव, दामोदर भण्डारी, बलबहादुर महत, नरदेवी पुन मगर, मञ्जुकुमारी चौधरी र दीपनारायण साहलाई राज्यमन्त्रीमा नियुक्त गरिएको छ । प्रधानमन्त्रीले सहरी विकास मन्त्रालय आफूसँगै राख्नुभएको छ । त्यस्तै रामजनम चौधरी स्वास्थ्य, शेरधन राई सूचना तथा सञ्चार, शान्ता मानवी शान्ति तथा पुनःनिर्माण र विश्वेन्द्र पासवान जनसङ्ख्या तथा वातावरणमन्त्रीमा रहनुभएको छ । स्वास्थ्य, सूचना तथा सञ्चार र जनसङ्ख्या तथा वातावरण मन्त्रालयको नाम परिवर्तित भएको छ । गत असोज २५मा गठन भएको सो मन्त्रिमण्डलमा कात्तिक १, १९ र २३ गते जिम्मेवारीमा हेरफेर तथा थप भएकामा आज पुनः विस्तार र हेरफेर भई मन्त्रिमण्डलमा ४० सदस्य पुगेका छन् । सो अनुसार उपप्रधानमन्त्री छ, मन्त्री २१, राज्यमन्त्री १० र सहायकमन्त्री दुई जना छन् ।