नेपाली पहिचान जोगाउन टोपी दिवस, अष्ट्रेलियाको सिड्नी र एडिलेडमा पनि मनाइयो


topiपश्चिमा संस्कृतिको प्रभावमा युवा पुस्ताले अङ्ग्रेजी नयाँ वर्षलाई भव्य रूपमा मनाइरहँदा तिनै युवा पुस्तालाई नेपाली पहिचान र संस्कृतिबारे सचेतना जगाउन अभियानै सुरु गरिएको छ । राष्ट्रियताप्रति चासो राख्ने केही समूहले विगत चार वर्षदेखि राष्ट्रिय टोपी दिवस मनाउँदै आएका छन् । ‘नेपाली बनौँ, नेपालीपनमै रमाऔँ’ भन्ने मूलनाराका साथ नेपालका विभिन्न मुख्य शहरसहित विश्वका विभिन्न कुनामा रहेका नेपालीहरुले टोपीसहितको प्रदर्शन गरेका छन् । एकाविहानै टोपी लगाएर भेला भई उनीहरुले विश्वमै एकमात्र नेपालीको पहिचानका रुपमा रहेको टोपीलाई संरक्षण गर्नुपर्ने, सबैले आदर गर्नुपर्ने र नायाँ पुस्तालाई पनि यस बारेमा अवगत गराउनुपर्ने बताए । sydneyअष्ट्रेलियाको सिड्नी, एडिलेड लगायतका शहरमा पनि नेपाली समूदायका सदस्यहरु भेला भएर यो दिवस मनाएका छन् । सिड्नीको हर्सट्भिलमा भेला भएका अगुवाहरुले नेपाली टोपीको विषयमा नयाँ पुस्तामा जानकारी लैजान ढिला भएको बताए । एनआरएन आईसीसी सदस्य केशव सापकोटाको नेतृत्वमा भएको कार्यक्रममा सहभागी सबैले नेपाली टोपी लगाएका थिए । यसैगरी एडिलेडमा पनि समाजका अगुवाहरु भेला भएर टोपी लगाएर यस दिवसको समर्थन गरेका छन् । एनआरएन डेप्युटी रिजनल कोअर्डिनेटर रमेश जोशी, दिपक विष्ट लगायतका अगुवाहरु भेला भएका थिए । यस वर्ष थोरैमात्र सहभागितामा भएपनि यो दिवसलाई मनाउने क्रमको सुरुवात गरिएको र अर्को वर्षदेखि यसलाई भव्यतापूर्वक मनाउनका लागि पूर्वतयारी समेत गरिने सहभागीहरुले बताएका छन् ।

बसन्तपुरमा टोपी दिवस

उता वसन्तपुरमा ‘राष्ट्रिय टोपी दिवस’ मनाइएको थियो । अङ्ग्रेजी नयाँ वर्षलाई नेपालीले उत्सवका रूपमा मनाइरहँदा ‘हाम्रो राष्ट्रिय पहिचान टोपीलाई नभुलौँ’ भन्ने कुराको सचेतनास्वरूप कार्यक्रम आयोजना गरिएको आयोजक तेजेन्द्र श्रेष्ठले बताउनुभयो । कुनै औपचारिक तडकभडकका रूपमा नभई सामान्य तुल राखेर टोपी लगाएको तस्बिर खिचेर दिवस मनाइएको छ । कार्यक्रममा उपस्थित सर्वसाधारणले टोपी लगाएर तस्बिर खिचाएका थिए । पश्चिमा संस्कृतिले पेल्दै गइरहेको सन्दर्भमा ‘आफ्नोपनप्रति गर्व गरौँ, नेपाली उत्पादनको प्रवद्र्धन गरौँ’ भन्ने युवामा सन्देश प्रवाह गर्ने उद्देश्यले टोपी दिवस मनाइएको फोटो पत्रकार जनार्दन अर्यालले बताउनुभयो । केही व्यावसायिक फोटो पत्रकारहरूले वसन्तपुरमा जम्मा भएर हरेक अङ्गे्रजी नयाँ वर्षका दिन टोपी दिवस मनाउँदै आएका छन् । राष्ट्रिय पोसाकका साथमा टोपी लगाएर तस्बिर खिच्ने तथा साथीभाइ जम्मा भएर चियापान गर्ने गरिन्छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?