मेलबर्नमा तमु ल्होछार भव्यतापूर्वक मनाइयो, संस्कृतिको जगेर्ना आवश्यक


tamu1 tamu3 tamu4गुरुंग समूदायको नयाँ वर्ष तमु ल्होछार मेलबर्नमा विशेष कार्यक्रम गरी मनाइएको छ । स्थानीय ईस्टोनिया हाउसमा भएको कार्यक्रममा भेडा वर्षको अन्त्य र बाँदर वर्षको सुरुवात भएको अवसरमा एकअर्कामा शुभकामना आदानप्रदान गरिएको थियो । कार्यक्रमको सुरुवात लामा गुरुहरुले विश्वशान्तिको कामना गर्दै सुरु गरेको प्रार्थनाबाट भएको थियो । तमु समाज भिक्टोरियाले आयोजना गरेको कार्यक्रममा प्रमुख अतिथिको रुपमा भिक्टोरिया मल्टिकल्चरल कमिशनकी कमिश्नर डा. टेरेसा डे फजियोले नयाँ वर्षको शुभकामना व्यक्त गर्नुभयो । उहाँले बहुसांस्कृतिक शहर मेलबर्नमा तमु ल्होछार मनाउन पाउनु र नेपाली समूदायका सदस्यहरुसँग अन्तरक्रिया गर्न पाउनु निकै खुशीको कुरा हो भन्दै आफ्नो भाषा, संस्कृतिको संरक्षण र जगेर्नामा जागरुक बन्नुपर्ने बताउनुभएको थियो । कार्यक्रमको विशेष अतिथि भिक्टोरिया प्रहरीका डेप्युटी कमिश्नर एन्ड्रयू क्रिस्प हुनुहुन्थ्यो । यस्तै अतिथिहरुमा मल्टिकल्चरल आर्टसका प्रमुख कार्यकारी अधिकृत जिल मोर्गन, रोटरी क्लब अफ कोबर्गका सभापति पर्शुराम शर्मा, एनआरएन भिक्टोरियाका संयोजक केशव कँडेल, नेप्लीज एशोसिएसन अफ भिक्टोरियाका अध्यक्ष सुधिर शाक्य, तामांग समाज भिक्टोरियाका सभापति बम योञ्जन, मनांग सोसाईटी भिक्टोरियाका सभापति फुर्बा घले, मगर सोसाईटी भिक्टोरियाका सभापति मोहन राना हुनुहुन्थ्यो । ठूलो संख्यामा तमुहरुको उपस्थिति रहेको कार्यक्रममा उच्च शिक्षा आर्जन गर्न सफल भएका विद्यार्थीहरुलाई सम्मान गरिएको थियो । यस्तै स्थानीय कलाकारहरुले आफ्नो आकर्षक प्रस्तुतिबाट मनोरञ्जन दिलाएका थिए ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?