पर्वमा प्रहरी, भिक्टोरियामा २५ हजार चालकमाथि कारवाही


policeनेपालमा दशैं तिहार जस्ता चाडबाडमा सवारी नियम उल्लंघन गर्ने क्रम बढ्दछ । ट्राफिक प्रहरीले देख्यो भने ठीकै हो नत्र भने मज्जाले नियम तोडेरै पनि मानिसहरु सडकमा गाडी हुईक्याउँछन् । त्यसैले त वर्षेनी कैयौं मानिसहरुको ज्यान जाने गर्दछ । अष्ट्रेलियामा पनि क्रिसमस, नयाँ वर्षको आसपासमा लामो बिदा हुने गर्दछ । यी चाडहरुलाई यहाँका मानिसहरु हर्षोल्लासका साथ मनाउने गर्दछन् । सडकमा पनि ट्राफिक नियम उल्लंघनका घटना अन्य बेलाको भन्दा यसैबेला बढी हुने गरेको पाइएको छ । तथ्यांक भिक्टोरिया राज्यको हो । भिक्टोरिया प्रहरीले दिएको जानकारी अनुसार चाडबाडको बेला नियम उल्लंघन गरेर सवारी चलाउने २५ हजार चालकहरु कारवाहीमा परेका छन् । यसमध्ये ७ हजार ५ सय त बढी गतिमा सवारी हुईक्याउनेहरु छन् । स्मरणीय छ चाडबाडको बेला नियम उल्लंघन गर्नेहरुलाई जरिवाना पनि दोब्बर लाग्छ र डिमेरिट प्वाईन्ट पनि दोब्बर नै काटिन्छ । यसबीचमा भिक्टोरिया प्रहरीले सडकमा ४ लाख ३० हजार चालकहरुमाथि मदिरा सेवन गरे नगरेको चेक गरेको थियो । जसमा ४ सय ७३ जनाले मदिरा सेवन गरेर सवारी हाँकेको पाइयो । यस्तै ६ हजार ४ सय जनालाई लागू औषध सेवन गरे नगरेको परीक्षण गर्दा ६ सय ६ जनाले लागू पदार्थ सेवन गरेको भेटिएको थियो । कारवाहीमा परेकामध्ये ६ सय ६४ जना अस्वीकृत ड्राईभर थिए भने १२ सय २५ जनासँग लाईसेन्स नै थिएन, यसैगरी १३ सय २२ जनाले गाडी चलाउँदा मोबाईलको प्रयोग गरेको पाइएको थियो । भिक्टोरिया प्रहरीका सहायक कमिश्नर डुग फ्रेयर भन्छन्, “अझै पनि धेरै मानिसहरु तोकिएको गतिभन्दा बढी गाडी दौडाउनु ठीकै हो भन्ने सोच्छन् जुन गलत हो । तपाईंले अब सोच्नुपर्दछ कि तपाईंको कुनै साथीले बढी गतिमा गाडी चलाइरहेको छ । ट्राफिक नियम उल्लंघन गरेको छ भने प्रहरीलाई खबर गर्दा तपाईंले उसलाई नै सहयोग गरिरहनुभएको हुनेछ । यो पर्वका बीचमा नै मात्र पनि १२ जनाले ज्यान गुमाएका छन् । उनीहरुले हतार गर्दा कहिल्यै घर पुग्नै सकेनन् ।”

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?