चीनसहित पश्चिमा देशहरुको उत्तर कोरियाली बम परीक्षणको विषयमा चासो
प्रजातान्त्रिक जन गणतन्त्र कोरियाले पहिलो पटक हाइड्रोजन बम परीक्षण गरेको जानकारी दिएको समाचार छ । सो देशले बुधबार उक्त परीक्षण गरेको र सो परीक्षण सफल रहेको जानकारी दिएको समाचारमा जनाइएको छ । बुधबार बिहान ठिक १०ः०० बजे सो परीक्षण गरेको र सो सफल भएको उत्तर कोरियाका सञ्चारमाध्यमले जनाएका छन् । यहाँका सरकारी सञ्चारमाध्यमले यस परीक्षणबाट उत्तर कोरिया वास्तविक आणविक शस्त्र मुलुकमा प्रवेश हो भन्ने कुरा प्रमाणित भएको जनाइएको छ । उक्त परीक्षण सफल भएको सरकारी जानकारीपछि विश्वका नेताहरुको विभिन्न प्रतिक्रिया आएको छ । उनीहरुले निशस्त्रिकरणका लागि गरिएको आग्रहका विरुद्ध उत्तर कोरियाले आणविक परीक्षणलाई अघि बढाएको भन्दै विरोध गरेका छन् ।
सो परीक्षणको समयमै कोरियाली प्रायद्वीपमा भूकम्पको धक्का पनि महसुश गरिएको जनाइएको छ । अमेरिकी भौगर्भिक सर्वेक्षण संस्थाले त्यसै समयमा ४.९ रिक्टर स्केलको भूकम्पको धक्का रेकर्ड गरेको थियो । सोही बमको परीक्षणका कारण उत्पन्न भएको धक्काबाट पृथ्वीमा सो कम्पन आएको हो वा होइन भन्ने बारेमा भने उक्त संस्थाले केही बताएको छैन ।
यो घटनाको विश्वव्यापीरुपमा निन्दा गरिएको छ भने छिमेकी देश दक्षिण कोरियाले यसबाट उत्पन्न हुनसक्ने सुरक्षाको प्रश्न उठाएको छ । दक्षिण कोरियाले यस बम परीक्षणपछि आवश्यक कदमका लागि संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद्लाई आग्रह पनि गरेको छ । दक्षिण कोरियाका राष्ट्रपतिले उक्त घटनाको कडा शब्दमा विरोध गर्नुभएको छ । उहाँले यसले एसियामा मात्र नभएर संसारकै सुरक्षामाथि पनि प्रश्न उठाउनुभएको छ । राष्ट्रपतिको कार्यालयद्वारा प्रकाशन गरिएको विज्ञप्तिमा उत्तर कोरियाको यो आणविक होडको गल्तीलाई दक्षिण कोरिया एवम् संसारको कुनै पनि देशले स्वीकार गर्न नसक्ने बताइएको छ ।
हो नै भन्न सकिन्न–संयुक्तराज्य अमेरिका
उक्त बम परीक्षणको समाचारलाई संयुक्त राज्य अमेरिकाले भने हो नै भनेर भन्न नसकिने प्रतिक्रिया दिएको छ । अमेरिकी सरकारले प्रकाशन गरेको विज्ञप्तिमा यसलाई उत्तर कोरियाको उत्तेजनामा आएर दिएको अभिव्यक्ति पनि हुनसक्ने जनाएको हो । हामीले यी हल्लाहरुलाई अहिले नै विश्वास गर्न सक्दैनौँ तर पनि यस्ता कुनै पनि किसिमको हिंसात्मक कामलाई सबैले निन्दा गर्नुपर्छ–ह्वाइट हाउसको राष्ट्रिय सुरक्षा सल्लाहकारको कार्यालयद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । अमेरिकाले विश्व समुदायले निशस्त्रिकरणका लागि उत्तर कोरियालाई आग्रह गर्दागर्दै पनि बम नै परीक्षण गर्नु भनेको राष्ट्रसङ्घीय सुरक्षा परिषदको शान्तिसम्बन्धी प्रस्तावको उल्लङ्घन हो भनेको छ ।
सुरक्षा परिषद्को आकस्मिक बैठक बस्दै
यस बम परीक्षणसम्बन्धी विषयमा छलफलका लागि संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद्को आकस्मिक बैठक बस्ने भएको छ । सो परिषद्ले तत्कालै आकस्मिक बैठकबसी उत्तर कोरियाको यस कदमको कडा शब्दमा विरोध गर्ने भएको जनाएको छ । उत्तर कोरियाको हाइड्रोजन बम परीक्षणसम्बन्धी यस घटनाले परिषद्को निशस्त्रिकरणसम्बन्धी नीतिको उल्लङ्घन गरेको छ । पन्ध्र सदस्यीय यस परिषद् संयुक्त राष्ट्रसङ्घको शक्तिशाली निकाय हो ।
चीनको पनि विरोध
उता चीनले पनि उत्तर कोरियाको यस कार्यको विरोध गरेको छ । चीनले यस घटनाको विरोध गरेको समाचार चिनियाँ सरकारी समाचार समिति सिन्ह्वाले जनाएको छ । सिन्ह्वाले भनेको छ, ‘चिनियाँ विदेशमन्त्रालयले बुधबार प्रकाशन गरेको विज्ञप्तिमा सो हाइड्रोजन बम परीक्षणसम्बन्धी’ कार्यको विरोध गरेको छ । चीन पनि संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद्को स्थायी सदस्य राष्ट्र हो ।