मेलबर्नको आकाशमा कालो धुँवाको मुस्लो, सावधानी अपनाउन आग्रह


melbourne aagoमेलबर्नको आकाशमा यतिबेला कालो धुँवाको मुस्लो देखिएको छ । यो धुँवाको मुश्लो मेलबर्नको उत्तरपश्चिमी क्षेत्रमा रहेको एक औद्योगिक क्षेत्रमा जम्मा गरेर राखिएका पुराना टायरहरुको थुप्रोबाट आएको हो । उक्त टायरको थुप्रोमा कसरी आगलागी भयो भन्ने बारेमा केही नबताइए पनि अझै केही घण्टासम्म आगो नियन्त्रणमा लिन नसकिने स्थिति देखिएको छ । आपतकालीन सुरक्षाकर्मीहरु, दमकल त्यहाँ पुगिसकेका छन् र करिब १ सय २० मिटर चौडा र ३० मिटर अग्लो टायरको थुप्रोमा दन्केको आगो निभाउने प्रयास गर्नु नै व्यर्थ हुने देखेपछि उनीहरु उचित समयको प्रतिक्षामा रहेका छन् । यसैबीच यस क्षेत्र वरिपरि रहेका स्थानीय बासिन्दालाई मेलबर्न मेट्रोपोलिटन फायर बिग्रेडको तर्फबाट सूचना जारी गर्दै घरभित्रै बस्न र सबै ढोका झ्यालहरु बनद राख्न अनुरोध गरिएको छ । एसीहरु पनि बन्द राख्न पनि भनिएको छ । टायरको धुँवा विषालु हुने र यसले विभिन्न समस्या ल्याउनसक्ने भन्दै सचेत रहन आग्रह गरिएको हो । आगलागीको कारणका विषयमा केही खुलेको छैन । स्थानीय बासिन्दाहरु टाढैबाट देखिएको यो धुँवाको मुश्लोका कारण सुरुवातमा अन्योलमा परेका थिए ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?