पश्चिमा मुलुकहरुसँग सहकार्य गर्न र अन्तर्राष्ट्रिय कानून मान्न रुस तयार
रसियाली राष्ट्रपति भ्लादिमिर पुटिनले मस्को आफ्ना अधिकारलाई नगुमाईकन पश्चिमसँग सहकार्य गर्न तयार रहेको बताउनुभएको छ । सोमबार जर्मनीको बिल्ड पत्रिकासँगको अन्तरवार्ताका क्रममा रसियाली राष्ट्रपति पुटिनले यो कुरा बताउनुभएको क्रेमलिनद्वारा अनलाई प्रकाशित गरिने सरकारी अभिलेखमा जनाइएको छ । रसियाले आफ्ना हित सुरक्षा विवादरहित रूपमा संरक्षण गर्दै अन्य विश्वसँग सहकार्य गर्न सधैँ तयार रहने पुटिनको भनाई छ । रसियाले सम्पूर्ण अन्तर्राष्ट्रिय समुदायलाई लागू भएको कानुनलाई मान्न तयार रहेको र यो सबैका लागि समान हुनुपर्ने पुटिनले बताउनुभएको हो । पश्चिमीको रसियाविरोधी ‘दण्डविधान’ लाई ‘मूर्ख र हानीकारक निर्णय’ बताउँदै पुटिनले थप्नुभयो, “हरेक राष्ट्रको आपसी विकास र साझा समस्यालाई समाधान गर्न हरेक राष्ट्र सामथ्र्यवान रहेका छन् ।” हामी साझा चुनौती सामना गर्दैछौँ र हामी अझै चाहन्छौँ यूरोप तथा अन्य विश्वका राष्ट्रहरूले आपसी रूपमा ब्याप्त यी चुनौतीको सामना गर्नुपर्छ, रसियाली राष्ट्रपतिले सम्पूर्ण विश्व समुदायलाई आग्रह गर्नुभयो । साझा चुनौती के हुन् भन्नेबारे थप ब्याख्या गर्दै राष्ट्रपति पुटिनले भन्नुभयो, विश्वसामु आतङ्कवाद मुख्य चुनौतीका रूपमा आएको भए पनि यो नै एक मात्र समस्या नभई मानव बेचविखन, वातावरण सुरक्षा र धेरै अन्य बिषय हाम्रा साझा चुनौती रहेका छन् । रसियाले अन्य राष्ट्रले निर्णय गर्ने यो वा त्यो विषय मान्ने पर्छ भन्ने भने छैन । कुनै पनि निर्णय रसियाको विरुद्धमा हुने उद्देश्यका साथ आएमा यसलाई स्वतन्त्र रूपमा निर्णय गर्ने अधिकार आफूहरूको भएको राष्ट्रपति पुटिनले बताउनुभयो । यसैबीच शीतयुद्धको अन्त्यभएपछि पनि युरोपमा रहेको विभाजन अझै हल हुन नसकेकोमा पुटिनले दुःख व्यक्त गर्नुभयो ।
नेटो शक्तिको पूर्वी क्षेत्रमा भएको विस्तार बाहेक पनि क्षेप्यास्त्रप्रतिरोधी प्रणाली सुरक्षाको दृष्टिकोणबाट एउटा समस्याको विषय बनेको र यो युरोपमा इरानी आणविक चुनौतीको स्थिति देखाउँदै विकास गरिएको पनि उहाँले बताउनुभयो । राष्ट्रपतिले पश्चिमा राष्ट्रको सैन्य हस्तक्षेप इराक, लिबिया र अन्य मुलुकमा देखिएको हस्तक्षेपको पनि कडा आपत्ति जनाउनुभयो ।