यौन सम्पर्क गर्न नमान्दा जँड्याहा श्रीमानले गरे गर्भवती श्रीमतीको हत्या
आठ महिनाकी गर्भवती श्रीमतीसँग यौन सम्पर्क गर्न खोज्दा नमानेपछि श्रीमान्ले कुटपिट गरी हत्या गरेको अभियोग लगाइएको छ । मादक पदार्थ सेवन गरी रुपन्देहीको सिपवा–६ का २५ वर्षीय शैलेश मल्लाहले आफ्नै २२ वर्षीया श्रीमती सुनितालाई शनिबार निर्घात कुटपिट गर्दा मृत्यु भएको रुपन्देहीका प्रहरी नायब उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिनुभयो । हत्या गरी केही छिमेकीको मिलोमतोमा लुकिछिपी दाहसंस्कार गरिरहेको अवस्थामा घाटमा पुगेको प्रहरी टोलीले मृतक सुनिताका श्रीमान्सहित मलामी गएका पाँच जनालाई पक्राउ गरी अनुसन्धान गर्दा उक्त रहस्य खुलेको हो । अभियुक्तले आफ्नो कर्तुत स्वीकार गरेका छन् । प्रहरीले उक्त घटना आज मात्रै सार्वजनिक गरेको हो ।