श्रीलंकालाई हराउँदै नेपाल विजयी, बिमल घर्तीमगरको गोलको सहायतामा जीत दर्ता
बङ्गलादेशमा जारी बङ्बन्धु गोल्ड कप फुटबल प्रतियोगिताअन्तर्गत आज भएको खेलमा नेपाल श्रीलङ्कालाई पराजित गर्दै विजयी भएको छ ।
बङ्गलादेशको ढाकास्थित बङ्गबन्धु स्टेडियममा भएको खेलमा नेपालले श्रीलङ्कालाई १–० गोलअन्तरले पराजित गरेको हो । जितसँगै नेपालको सेमिफाइनलमा पुग्ने सम्भावना बलियो बनेको छ । नेपालले जारी प्रतियोगितामा ४ अङ्क जोडेको छ । यसअघि दुई खेल खेलेको नेपालले एक खेलमा जित तथा एक खेलमा बराबरी खेलेको थियो । नेपालले साविक विजेता मलेसियासँग गोलरहित बराबरी खेलेको थियो । त्यस्तै, नेपालले यसअघि भारतमा भएको साफ च्याम्पियनसिप फुटबल प्रतियोगितामा श्रीलङ्कासँग भोगेको हारको बदलासमेत लिएको छ । त्यतिबेला नेपाल श्रीलङ्कासँग समान गोलअन्तरले पराजित भएको थियो । नेपालको जितमा विमल घर्तीमगर नायक बने । उनले खेल सुरुवातीको दोस्रो मिनेटमा गरेको एक गोल नै नेपालका लागि निर्णायक गोल सावित भयो । नेपालले अब आफ्नो तेस्रो खेल आगामी माघ १ गते बङ्गलादेशसँग खेल्नेछ ।