फुटसलमाथिको प्रहरी प्रतिबन्ध, अनिश्चितकालका लागि बन्द
जथाभावी शुल्क लिने तथा होहल्ला बढी हुनेजस्ता कारण देखाउँदै अभिभावक तथा छरछिमेकीले उजुरी गरेपछि प्रहरीले काठमाडौँमा खुलेका फुटसल कोर्ट सञ्चालनमा प्रतिबन्ध लगाएको छ । पछिल्लो समय युवामाझ निकै लोकप्रिय रहेको फुटसलका कारण फुटसल जुवा बढेको, लागुऔषध प्रयोग स्थल बनेको तथा स्कुल कलेजका विद्यार्थी पढाइ छाडेर त्यतातिर लागेको भन्दै उजुरी आउन थालेपछि प्रहरीले कोर्ट सञ्चालनमा प्रतिबन्ध लगाएको हो । महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता विश्वराज पोखरेलले विभिन्न गुनासाका उजुरी आउन थाले पछि फुटसल कोर्ट अनिश्चितकालका लागि बन्द गरिएको बताउनुभयो । काठमाडौँ उपत्यकामा ७० भन्दा बढी फुटसल कोर्ट सञ्चालनमा रहेको बताइएको छ ।