जकार्ता आक्रमणमा संलग्न भएको आरोपमा १२ पक्राउ, आत्मघाती हमलाकारीको परिचय खुल्यो
इन्डोनेसियाली प्रहरीले राजधानी जकार्तामा बिहीबार आत्मघाती बम हमला गर्ने योजनामा संलग्न रहेको आरोपमा १२ जनालाई पक्राउ गरी अनुसन्धान अघि बढाएको यहाँका उच्च प्रहरी अधिकारीले बताएका छन् । यस्तै प्रहरीले आक्रमणमा संलग्न पाँच जना आतङ्ककारीको परिचय खुलेको शनिबार जनाएको छ । बिहीबार भएको उक्त आतङ्ककारी हमलामा सात जनाको ज्यान जानुका साथै २० भन्दा बढी घाइते भएका थिए । प्रहरी अनुसन्धानबाट जकार्तास्थित एक प्रहरी केन्द्र तथा स्टारबक्स कफी पसलमा गरिएको बम तथा बन्दुक आक्रमणको खर्च आईएस समूहले मिलाएको पनि छानबिनबाट थाहा हुन आएको यहाँका राष्ट्रिय प्रहरी प्रमुख बादरोदिन हाइटीले बताउनुभयो ।
पक्राउमध्ये एक जनाबाट आक्रमणका लागि आईएस समूहबाट बजेट लिएको तथ्य सार्वजनिक भएको प्रहरी प्रमुख बादरोदिनले पत्रकार सम्मेलनमा शनिबार बताउनुभयो । पक्राउ पर्ने १२ जना पश्चिमी जाभा, मध्य जाभा र पूर्वी कालिमनतानमा बसोबास गर्दै आएका आईएस समूहका सदस्य भएको बताइएको छ । उनीहरू वाहरून नाइमले नेतृत्व गरेको आईएस समूहमा सङ्गठित रहेको बताइएको छ । नामइमले आफू दक्षिणपूर्वी एसियामा आईएस समूहको नेताका रूपमा काम गर्दै आएको बताएका छन् । यसैगरी जकार्ता प्रहरीले हमलामा संलग्न पाँचैजनाको परिचय सार्वजनिक गरेको छ ।