मालद्वीपका पूर्व राष्ट्रपति नसिद उपचारका लागि बेलायत प्रस्थान
मालद्वीपका पूर्व राष्ट्रपति मोहम्मद नसिद स्वास्थ्य उपचारका लागि बिहीबार बेलायत प्रस्थान गर्नुभएको छ । जेलमा रहनुभएका उहाँलाई स्वास्थ्यमा समस्या देखिएपछि हालैमात्र रिहा गरिएको थियो । मालद्वीपको सरकारले उहाँको उपचारका लागि रिहाई गरेको जनाएको हो । जेलबाट रिहा भएपछि पूर्व राष्ट्रपति नसिद मङ्गलबार श्रीलङ्का जानुभएको थियो । उहाँ बिहीबार कोलम्बोबाट बेलायत प्रस्थान गर्नुभएको बताइएको छ । गएको मार्च महिनामा उहाँलाई आतङ्कवादी कानुनबमोजिम जेल हालिएको हो । तर उहाँलाई दिइएको सजायका बारेमा विश्वव्यापी रूपमा विरोध भइरहेको छ । बिरामी भएपछि उहाँमाथि विश्व समुदायको सान्त्वना बढेको र उपचारका लागि रिहाई गर्न विश्वव्यापी रूपमा दबाब बढेपछि उहाँलाई उपचारका लागि बेलायत जाने सर्तमा रिहा गरिएको हो । गएको करिब ९ महिनादेखि थुनामा रहनुभएका उहाँलाई सोमबार अबेरतिर रिहा गरिएको हो । त्यसयता उहाँले पहिलो पटक देश छोड्नुभएको हो । उहाँलाई मेरुदण्डमा समस्या देखिएपछि त्यसको उपचार बेलायतमा गर्नुपर्ने सुझाव मालद्वीपका चिकित्सकले दिएका थिए । चिकित्सकहरूको सल्लाहबमोजिम नै उहाँलाई ३० दिनका लागि रिहा गरिएको हो । उहाँका सहयोगी अहमद नसिमले पूर्व राष्ट्रपति नसिदले आपूmलाई रिहाईका लागि सहयोग गर्ने विश्वका अधिकारवादी एवम् प्रजातन्त्रवादी नेताहरूलाई फोन गरेर धन्यवाद ज्ञापन गर्नुभएको जानकारी दिनुभयो । पूर्व राष्ट्रपतिलाई सरकारले आतङ्कवादजस्तो आरोपमा जेलमा राख्नु निन्दनीय रहेको भन्दै विश्वका नेताहरूले मालद्वीपको यस घटनाको व्यापक विरोध गरिरहेका छन् ।