असिनापानीले सेलाङका भूकम्पपीडितको विचल्ली


sindhupalchowk (2)
Fil footage of Earthquake victims

सिन्धुपाल्चोकको हिमाली क्षेत्रको सेलाङ गाविस–१ बाँसखर्क र खरिगाउँका शिविरमा रहेका भूकम्पपीडित परिवार अति चिसोका कारण विचल्लीमा परेका छन् । सोमबार राति करिब २० मिनेट परेको असिना पानी र हावाहुरीले शिविरमा रहेका पीडितका छाप्रामा ओढाइएका त्रिपाल च्यातिएपछि पानी चुहिएर बालबालिका, सुत्केरी महिला तथा वृद्धवृद्धाको बढी विचल्ली भएको हो । माथिल्लो भागमा बाक्लो हिउँ परेको र त्यसैको असरले वस्तीमा समेत करिब दुई इन्च बाक्लो असिना परेको छ । त्यसको असरले अत्यधिक चिसो बढेकाले आगो तापेर रात कटाउनुपरेको पीडित नेत्रबहादुर थापाले जानकारी दिनुभयो । मौसम फेरवदलको कारण आकाश धुम्मिएकाले चिसो बढेको छ । वैशाख १२ गतेको भूकम्पले जमिन चिरा परेपछि सेलाङ, बतासे, पाङ्ताङ्, गुम्बा र गोल्चे गाविसका १९० परिवार सो शिविरमा बस्दै आएका छन् । शिविरमा न्यानो कपडा वितरण गरिएपनि थोरै सदस्य भएका भन्दा १२÷१५ जनासम्म सदस्य रहेका परिवारलाई बढी असर परेको पीडितले बताएका छन् । सो शिविरमा बस्ने भूकम्पपीडित परिवारका लागि जस्ताको टहरोसमेत नभइ सबै त्रिपालमा बस्दै आइरहेका छन् । शिविरमा दुई महिना नपुगेका सुत्केरी १०÷१५ जना रहेका र दुई महिना नाघेका सुत्केरी थुप्र्रै रहेको थापाले जानकारी दिनुभयो । उहाँका अनुसार शिविरमा बसोबास गर्नेहरूलाई खाद्यान्नको पनि समस्या परेको छ । राहतमा पाएको खाद्यान्न सकिएकाले समस्या परेको हो । शिविरमा दुई दिनअघि सुनबहादुर गोलेको त्रिपालमा आगलागी हँुदा करिब रु तीन लाख मूल्य बराबरको धनमाल क्षति भएको छ । विभिन्न सङ्घसंस्थाले राहतका लागि वितरण गर्न राखिएका चामल, सिरक, डस्नालगायतका सामान पनि जलेको शिविरमा बस्दै आएका थापाले बताउनुभयो ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?