नेपाली राष्ट्रिय फुटबल टोलीलाई १ लाख सहयोग गर्ने नयाको घोषणा
अष्ट्रेलियामा रहेका नेपाली युवाहरुको संस्था नेप्लीज अष्ट्रेलियन युथ एशोसिएसन नयाले सार्कस्तरीय फुटबल प्रतियोगिताको उपाधि जित्न सफल नेपाली टिमलाई एक लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ । संस्थाका अध्यक्ष कोमल पाठकले नेपाली युवाहरुले फुटबलको माध्यमबाट देशको गौरव बढाउन खेलेको भूमिकाको कदर गर्दै तत्कालका लागि यस्तो निर्णय गरिएको जानकारी दिनुभयो । एमएनटीभीसँग कुरा गर्दै पाठकले अष्ट्रेलियामा रहेका अन्य संघसंस्थासँग पनि सहकार्य गरेर यो रकमलाई अझ बृद्धि गर्न प्रयास गरिनेछ । पाठकले भन्नुभयो, “यो हामी विश्वभरि रहेका नेपालीहरुको लागि गौरवको कुरा हो । नेपालले जुन स्तरको फुटबल प्रदर्शन गरेको छ यो वास्तवमै भरोसायोग्य छ । यस्तो खेललाई अझ बढी प्रोत्साहित गर्नुपर्दछ । नयाले दिने १ लाख रुपैयाँका साथै अन्य संघ संस्थासँग सहकार्य गरेर प्रोत्साहन रकम बृद्धि गर्नका निम्ति संस्थाका बोर्ड अफ डाईरेक्टर भुपाल सिटौला र प्रकाश जिसीलाई जिम्मेवारी दिइएको छ ।” अष्ट्रेलियाका विभिन्न राज्यमा पनि नेपाली युवाहरु फुटबलमा बढी आकर्षित छन् । अष्ट्रेलियामा क्रिकेट, रग्वीतर्फ बढी अष्ट्रेलियनहरु झुकेको भएपनि नेपाली समूदाय भने फुटबलमा बढी रमेको यहाँ रहेका विभिन्न चर्चित १८ भन्दा बढी नेपाली फुटबल क्लबहरुले पनि पुष्टि गर्दछन् भने विभिन्न प्रतियोगिताहरु वर्षेनी हुने गरेका छन् ।