थाई नरेश भूमिबोलको स्वास्थ्यमा समस्या
थाइल्यान्डका नरेश भूमिबोल अदुल्यादेजको स्वास्थ्यमा समस्या देखिएको दरबार स्रोतले मङ्गलबार जनाएको छ । स्रोतका अनुसार ८८ वर्षीय नरेशलाई लगातार ज्वरोे, श्वासप्रश्वास, उच्च रक्तचापलगायतका समस्या देखिएका छन् । थाई नरेशले गएको छ वर्षमा धेरैजसो दिन स्थानीय अस्पतालमा उपचारका लागि बिताउनुभएको छ । मङ्गलबार सार्वजनिक हेल्थ बुलेटिनमा थाई नरेशको स्वास्थ्यमा विगत छ महिनादेखि लगातार ज्वरो आउने, उच्च रक्तचाप र श्वासप्रश्वासमा साह्रै समस्या देखिएको र यसका कारण शारीरिक अवस्था अत्यन्तै कमजोर भएको जनाइएको छ । विश्व इतिहासमा सबैभन्दा लामो समय स्थिर रूपमा शासन गरेका नरेश केही वर्षयता सार्वजनिक समारोहमा अक्सर कमै देखिँदै आउनुभएको छ । उहाँको रगत परीक्षणमा अज्ञात रोगको सङ्क्रमण देखिएपछि उहाँलाई एन्टिबायोटिक औषधि दिई उपचार गरिँदै आएको छ । बुलेटिनमा जनाइएअनुसार उहाँको अत्यधिक ¥याल तथा कफ आउने समस्या पनि पछिल्लो समयमा विकराल समस्याका रूपमा देखिएको छ । उहाँलाई पछिल्लो समयमा प्राय अक्सिजन पनि दिइँदै आएको छ ।