जनसम्पर्क समिति अष्ट्रेलियाले सम्झियो सुशील कोइरालाको योगदान (फोटो फिचरसहित)
जनसम्पर्क समिति अष्ट्रेलियाले पूर्वप्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति सुशील कोइरालाको निधनको १३ औं दिनको पुण्यतिथिमा एक श्रद्धाञ्जली कार्यक्रमको आयोजना गरेको छ । श्रद्धाञ्जली कार्यक्रममा एनआरएन अष्ट्रेलियाका अध्यक्ष एवं नेपाल अष्ट्रेलिया डेमोक्रेटिक फोरमका पूर्वअध्यक्ष सुरेन्द्र सिग्देल प्रमुख अतिथि हुनुहुन्थ्यो । यस्तै कार्यक्रममा एनआरएनका पूर्व अध्यक्ष महेन्द्र ओली, प्रवासी नेपाली मञ्च अष्ट्रेलियाका अध्यक्ष विनोद श्रेष्ठ, नेप्लीज अष्ट्रेलियन डेमोक्रेटिक फोरमका महासचिव एवं एनआरएन प्रवक्ता डा. ज्ञानेन्द्र रेग्मी एनआरएनका न्यूसाउथवेल्स संयोजक दिनेश पोखरेल, संघीय समाज अष्ट्रेलियाका अध्यक्ष गणेश तामांग, नेपाली आदिवासी जनजाति महासंघ अष्ट्रेलिया निन्फाका अध्यक्ष चित्र तुम्बाहाम्फे, नयाँशक्ति अष्ट्रेलियाका अध्यक्ष विनोद पौडेल लगायत अतिथिको रुपमा सहभागी हुनुभएको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि एनआरएन अध्यक्ष सिग्देलले नेपालमा गणतान्त्रिक संविधान निर्माणका लागि सुशील कोइरालाले खेल्नुभएको योगदान सदा स्मरणीय रहने बताउनुभयो । यस्तै एनआरएनका पूर्वअध्यक्ष महेन्द्र ओलीले स्व. कोइरालाको सदगीपूर्ण जीवन सबैका लागि अनुकरणीय रहेको विचार राख्नुभएको थियो । कार्यक्रमका अन्य वक्ताहरुले पनि कोइरालाको जीवनबाट नयाँ पुस्ताले निष्ठाको राजनीति सिक्नसक्ने धारणा राखेका थिए । एक मिनेट मौन धारण गरेर सुरु भएको कार्यक्रमको सभापतित्व जनसम्पर्क समिति अष्ट्रेलियाका अध्यक्ष सन्तोष सिटौलाले गर्नुभएको थियो । सिड्नीको बोन्डाई जंक्सनमा आयोजना गरिएको कार्यक्रममा स्व. कोइरालाको तस्वीरमा माल्र्यापण गरिएको थियो । यसअघि जनसम्पर्क समितिले कोइरालाको निधनमा शोक पुस्तिका राखेर शुभचिन्तकहरुबाट शोक सन्देश संकलन गरेको थियो । यसैबीच, सिड्नीको ग्रानभिलमा समेत जनसम्पर्क समितिकै नामबाट अर्को श्रद्धाञ्जली कार्यक्रम आयोजना गरिएको थियो । जसमा जनसम्पर्क समिति अष्ट्रेलियाको निर्वाचन आयोजक समितिका पूर्वसंयोजक प्रेम सापकोटा लगायतका नेताहरु उपस्थित थिए ।