राष्ट्रपतिको विवादास्पद निर्वाचन विषयपछि प्रतिपक्ष दलका सयौँ पक्राउ
युगान्डामा हालै सम्पन्न राष्ट्रपति निर्वाचनलाई प्रतिपक्ष दलले स्वतन्त्र नभएको भन्दै निर्वाचन परिणामलाई लिएर प्रतिपक्ष दलका नेता तथा कार्यकर्ता सडकमा निस्कन थालेपछि सरकारले उनीहरूलाई सयौँको सङ्ख्यामा पक्राउ गरेको बताइएको छ । प्रतिपक्षी दल किज्जा बिसिग्गे समर्थक कार्यकर्ताले चुनावमा भएका अनियमिततालाई कडा रूपले उठाउन थालेपछि लामो समयदेखि युगान्डाको सत्तामा रहँदै आएको नवनिर्वाचित राष्ट्रपति योबेरी मुसेभिनी समर्थक सरकारले बिसिग्गे समर्थक नेता तथा कार्यकर्तालाई ठूलो सङ्ख्यामा पक्राउ गरेको दाबी गरेको छ । प्रतिपक्षी दलले भने सरकारले चुनावमा व्यापक धाँधली गरेका प्रमाणसहित चुनावमा खटिएका आफ्ना नेता तथा कार्यकर्ता अदालतको ढोका ढकढकाउन पुग्ने डरले देशैभरीबाट करिब २०० भन्दा बढी नेता तथा कार्यकर्तालाई नियन्त्रणमा लिई अनियमितताका सबुतहरू नष्ट गर्न लागेको दाबी गरेको छ ।
प्रतिपक्षी पार्टीका वरिष्ठ नेता बिसिग्गेलाई समेत सरकारले गएको शुक्रबारदेखि नजरबन्द अवस्थामा राख्दै आएको छ । बिसिग्गेले नजरबन्द अवस्थामा नै राष्ट्रपतिको निर्वाचनमा प्रतिस्पर्धा गरी ३५ प्रतिशत मत प्राप्त गर्नुभएको थियो । तर ७१ वर्षीय राष्ट्रपति मुसेभिनीले करिब ६० प्रतिशत मत ल्याई पाँचौँ कार्यकालका लागि निर्वाचित हुनुभएको निर्वाचन आयोगले जनाएको छ । बिसिग्गेले निर्वाचन स्वतन्त्र नभएको भन्दै आफ्ना समर्थकलाई प्रदर्शनमा उत्रिन आह्वान गरेपछि युगान्डामा पछिल्ला केही दिनयता तनाब देखिँदै आएको छ । यद्यपि प्रहरी प्रवक्ता पोली नामायले भने प्रहरीले युगान्डाका विभिन्न ठाउँबाट आपराधिक घटनामा संलग्न व्यक्तिहरूलाई पक्राउ गरेको भन्दै यसमा प्रतिपक्षी दलका नेता तथा कार्यकर्तालाई लक्षित नगरिएको बताउनुभयो ।