पाको फेष्टिभलमा नेपाली समूदायको यस्तो प्रस्तुति
अष्ट्रेलियाको भिक्टोरिया राज्य अन्तर्गत जीलङमा शनिबार आयोजित पाको फेष्टिभलमा नेपाली समूदायले पनि सहभागिता जनाएको छ । नेपाली मौलिक भेषभूषा, पहिरन र बाजागाजासहित सहभागी भएका नेपाली समूदायका सदस्यहरुले विभिन्न प्लेकार्डसमेत बोकेका थिए । उनीहरुले बहुसांस्कृतिक शहर मेलबर्न र पूरै भिक्टोरिया राज्यमा बसोबास गर्ने विभिन्न समूदायका व्यक्तिहरु सहभागी रहेको बहुसांस्कृतिक महोत्सवमा आफ्नो उपस्थिति जनाएका हुन् । विहान शनिबार विहान १० बजेबाटै सुरु भएको महोत्सवमा नेपाली टोलीले हातमा नेपाली झण्डा बोकेर परेड गरेको थियो । पाको फेष्टिभल विगत ४० वर्षदेखि आयोजना भइरहेको छ । परेडपछि आयोजना गरिएको विशेष सांस्कृतिक कार्यक्रममा नेपाली समूदायको तर्फबाट तीनवटा नृत्य प्रस्तुत गरिएको थियो । अष्ट्रेलिया एक बहुसांस्कृतिक मुलुक हो र त्यसमा पनि भिक्टोरिया राज्यलाई बहुसंस्कृतिको राजधानी नै मान्ने गरिन्छ । यहाँ बसोबास गर्ने विभिन्न समूदायले आफ्नो कला, संस्कृति, भाषा र भेषभूषालाई संरक्षण गर्न सहयोग पुग्ने उद्देश्यले यो परेड आयोजना गर्ने गरिएको छ । कार्यक्रममा अतिथिको रुपमा वाणिज्य तथा बहुसांस्कृतिक सम्बन्ध मन्त्री रविन स्कट सहभागी भएका थिए । नेपाली समूदायको तर्फबाट अतिथिहरुलाई खादा लगाएर स्वागत गरिएको थियो । परेडमा सहभागीहरुले नेपालको पर्यटन प्रबद्र्धनमा सहयोग गर्ने भावका प्लेकार्ड बोकेका थिए । नेपाल शान्तिका अग्रदूत भगवान गौतम बुद्धको जन्मथलो हो भन्ने नाराका साथै समूदाय समूदायबीचको एकतामा पनि जोड दिइएको थियो ।