बढ्दैछ अपराध र क्रुरता युवापुस्तामा पनि, रक्सीले मातेपछि पसलेलाई चक्कु रोपेर मारे


knifeजिल्ला प्रहरी कार्यालय कञ्चनपुरले होटल व्यवसायीको हत्या गर्ने चारजना युवालाई पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको छ । आइतबार मध्यरातमा कञ्चनपुरको झलारीपिपलाडी नगरपालिका–११ कलुवापुरस्थित होटल बैतडीका सञ्चालक ३८ वर्षीय दामोदर अवस्थीको हत्यामा संलग्न सोही नगरपालिकाका चार युवालाई मङ्गलबार प्रहरीले सार्वजनिक गरेको हो । हत्यामा संलग्न हुनेमा झलारीपिपलाडी नगरपालिका–११ का १८ वर्षीय सुरज साउद, १८ वर्षीय ईन्द्रदेव भट्ट, १९ वर्षीय प्रदीप महरा र १८ वर्षीय कृष्णसिंह साउद रहेका छन् । उनीहरुले होटल व्यवसायीको हत्यामा संलग्न चक्कु, होटलबाट लुटेको रु तीन हजार ५२०, मोबाइल सेटसमेत प्रहरीले सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक तुलसीप्रसाद अधिकारीले हत्यामा संलग्न युवाले अत्यधिक मादक पदार्थ सेवन गरेर व्यवसायी अवस्थीको हत्या गरेको बताउनुभयो । सोमबार बिहानै घटनास्थल पुगेको प्रहरीले सुरुमा हत्यामा संलग्न सुरज साउदलाई सोही क्षेत्रबाट पक्राउ गरेको प्रहरीले जनाएको छ । “सुरज पक्राउ परेपछि उनको बयानका आधारमा हामीले सबै हत्यारालाई पक्राउ गर्न सफल भयौँ” प्रहरी उपरीक्षक अधिकारीले भन्नुभयो ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?