नेपाल मलाई स्वर्ग जस्तो लाग्यो : सिनेटर शाम
नेपालमा भूकम्प गएको करिब १० महिना बितिसकेको छ यसबीचमा करिब तीन महिनाभन्दा बढी राहत र उद्धारको काम नै अघि बढ्यो । यसपछि पनि पुननिर्माण प्राधिकरण बन्न ढिलाई हुँदा कैयौं कामहरु अड्किएका छन् । पछिल्लो पटक नेपालको भ्रमणमा आएको अष्ट्रेलियन सिनेटरसहितको लेबर पार्टीको टोलीले सरकारका सबै निकायसँगको भेटपछि कामको गति बढाउनुपर्ने निष्कर्श निकालेको छ । अष्ट्रेलिया फर्कनुअघि एमएनटीभीसँग कुरा गर्दै अष्ट्रेलियन सिनेटर शाम डेष्टियारीले आफुले सरकारी कामको गतिबाट जनता पीडित भएको पाएको बताएका छन् । उनले गते वैशाख १२ गतेको भूकम्पको केन्द्रविन्दू रहेको गोरखाको बारपाकभन्दा माथि रहेको लाप्राक गाउँको भ्रमणपछि कुरा गर्दै भने, यो स्वर्गजस्तो ठाउँ छ । यहाँका मानिसहरु अहिले पनि घर नभएर त्रिपालमा बसिरहेको देख्दा साह्रै मन दुख्यो । काठमाडौंमा हामीले प्रधानमन्त्रीदेखि सबै उच्च अधिकारीहरुसँग भेट गर्यौ तर उनीहरुले भनेकोभन्दा यहाँको परिस्थिति विल्कुलै फरक पायौ । सरकारले पुननिर्माणको गतिलाई तिव्रता दिनुपर्दछ । यसो गर्न सकेको अवस्थामा मात्र यी सर्वसाधारणले राहतको महसूस गर्न सक्दछन् । अष्ट्रेलियासहित अन्तर्राष्ट्रिय समूदाय नेपाल सरकारसँग हातेमालो गर्न तयार छ । अझ एनआरएनका अध्यक्ष शेष घलेले सरकारी निकायले गर्ने निर्णयको अभावमा घर बनाउने जस्तो परियोजना पनि पछि धकेलिएको बताएपछि उनीहरुले यसमा तत्कालै सरकारले तदारुकता लिनुपर्ने धारणा राखेका थिए । उनको स्वागतमा लाप्राकमा आयोजना गरिएको कार्यक्रममा बोल्दै उनले स्थानीयहरुलाई ढुक्क रहन आग्रह गरेका थिए । अन्तर्राष्ट्रिय समूदायले समेत सहकार्य गरेर तपाईंहरुको समस्या चाँडै समाधान हुने आशा गरेको छु उनले स्थानीयलाई भने । यहाँको प्राकृतिक सुन्दरताबाट आफु लोभिएको भन्दै उनले स्थानीयलाई बधाई पनि दिएका थिए । यसैबीच, सिनेटर शामले नवनिर्वाचित काँग्रेस सभापति शेरबहादुर देउवासँगको भेटमा पनि यही कुरामा जोड दिएका थिए । अष्ट्रेलिया फर्कनुअघि देउवा निवासमा भएको भेटमा उनले प्रमुख प्रतिपक्षी दलको नेताको भूमिका यसमा निकै महत्वपूर्ण रहेको भन्दै सरकारलाई घच्घच्याउनुपर्ने बताए । देशको सबैभन्दा ठूलो दलको सभापतिमा निर्वाचित भएपछि बधाई दिँदै आगामी दिनमा अष्ट्रेलियाको लेबर पार्टी र नेपाली काँग्रेसबीच सहकार्य अघि बढाउन तयार रहेको बताएका थिए । जवाफमा काँग्रेस सभापति देउवाले नेपालको वस्तुस्थिति बुझ्न अष्ट्रेलियाको तर्फबाट भएको भ्रमणका निम्ति धन्यवाद दिएका थिए । भेटका क्रममा अष्ट्रेलियाको न्यूसाउथवेल्सका लागि अवैतनिक महावाणिज्यदूत दिपक खड्का, एनआरएन अष्ट्रेलिया पुननिर्माण टास्क फोर्सका संयोजक गणेश केसी लगायत सहभागी थिए ।