सिमाहरु कहिलेसम्म पीडित भएर बस्ने ?


sandhya sahaसभा हलभित्र ठुलो जमघट छ । हलमा भद्र,भलाद्मी देखिनेदेखी महिला अधिकारकर्मी, मानव अधिकारवादीको बाक्लो उपस्थित हुन्छ । राजधानीको ब्यस्त ठाउँ त्रिपुरेश्वरको एक प्रतिष्ठित होटलको हलमा हरेक बर्ष जस्तै यो वर्षको मार्च महिनामा पनि भीड लागेको छ ।
सीमा नजिकै पाँच सात जना अटाउने सटर भाडामा लिएर चिया पसल खोलेर बस्न थालेको पनि सात वर्ष भइसकेछ । ११ बर्ष पहिले बिहे गरेर काठमाडौं छिरेकी सिमाको दैनिकी सजिलो थिएन। नजिकैको गाउँको बेरोजगार केटासँग उनले १४ बर्ष पहिले बुवा,आमाको रोजाइमा लगनगाठो कसेकी थिइन। त्यतिबेला उनको उमेर मात्र १९ वर्षको थियो । सामान्य पढाई मात्र गरेकी सिमा एक दिन श्रीमान रेशमकै सल्लाहमा काठमाडौंमा गएर भविष्यको खोजी गर्ने निधोमा पुगिन् । त्यतिबेला उनी दुई जीउकी थिइन् । गाउँ छोड्नुका पछाडि अरु पनि कारण थिए, बिहेकै एक साता पनि नबित्दैबाट उनलाई सासु, ससुराको टोकसो सहनु पर्दथ्यो । उनले गरेको काममा खोट लगाउने उनीहरुको बानी नै भइसकेको थियो । सधैं आलोचना र गाली, मानसिक तनाब बढिरहन्थ्यो । घर छोडेर काठमाडौं जाने निर्णय रेसमले गरेको भएपनि यसको अपजश भने सीमालाई नै लाग्यो । छोरो भड्काएर शहर पसेको आरोप । रेशमले बाबुआमाको पक्ष छोडेर श्रीमतीको कुरा सुन्दैनथ्यो ।
भने जस्तो सजिलो थिएन काठमाडौं । रेशम जागिर खोज्ने जाँगर चलाउँदैनथ्यो । त्यसमाथि दुई जिउकी सीमाको परिवारलाई हातमुख जोर्न समेत कठीन हुन थालेको थियो । काठमाडौं आइसकेपछि रेशम दिन प्रतिदिन परिवर्तन हुँदै थियो । बच्चा जन्मने दिन नजिकै आउँदै गर्दा समेत उसलाई कुनै वास्ता थिएन । बेरोजगारी त्यसमाथि अनेकथरी संगतले ऊ थोरै समय पनि परिवारसँग बस्दैनथ्यो । दिन र रात बाहिरै विताउने उसको दैनिकी जस्तै बन्यो । रेशम घरमा नभएको बेला सिमालाई प्रसुती ब्यथाले च्याप्यो । कोठामा एक्ली सिमाको चिच्याहट सुन्ने कोही भएन । घन्टौपछि सिमाको कोठा नजिकै अर्को कोठाकी एक महिलाको सहयोगमा उनलाई अस्पताल लगियो । उनले छोरी पाइन् । तर, रेशम बेखबर थियो यस बारेमा । अस्पातालले उनलाई डिस्चार्ज गरिदियो । उनी कोठामा गइन् । समस्या उस्तै थियो, हातमुख जोर्ने । झन सुत्केरीलाई चाहिने स्याहार समेत उनले पाइन् । एकदिन बेखबर रेशम घरमा आइपुग्यो । बल्ल थाहा पायो उसले आफ्नो छोरी जन्मिएको । यति लापर्वाह थियो रेशम ।
साथीहरुको संगतले रेशमको बास अब डिस्को र क्लबमा हुन थालिसकेको थियो। सिमाको दैनिकी झन झन कस्टकर हुँदै गयो । यसैबेला उनले चिया पसल खोज्ने निर्णय गरेकी थिइन् । ऋण, सापट गरेर सिमाले छोरी हुर्काउदै चिया पसल् चलाइन् । राम्रै चल्यो पनि । यसैका कारण उनको कोठाभाडा र दैनिकीमा भरथेग भयो । तर, रेशमको चर्तिकला दिनदिनै बढ्दै थियो । ऊ त्यही पसलबाट आएको कमाई पनि सिमासँग लुटेरै लैजान्थ्यो र जुवा, तास र रक्सीमा सकाउँथ्यो । यो क्रम निरन्तर चल्यो ११ वर्षसम्म । सुरु सुरुमा त सिमालाई श्रीमानले अन्याय गरिरहेको छ भन्ने थाहा पनि भएन । उनी आफैंलाई र भाग्यलाई दोष दिन्थिन् ।
सधैंको बर्ष झैं यो बर्ष पनि मार्च ८ सुरु हुनुभन्दा धेरै अघिदेखि नै सभा, गोष्ठी, अन्तरक्रियाहरु हुन थालेका थिए । उनको चिया पसल नजिकैका तारे होटलहरुमा लागेको भीड, आफुजस्तैको हक हितका लागि हो भन्ने कुरा उनले धेरै पछि मात्रै थाहा पाइन् । जब थाहा पाइन् उनले आफ्ना लागि पनि केही गर्लान् भन्ने आशा बोकेर यस पटक भने सहभागी हुने निधो गरिन् । आफु र छोरीको लागि न्याय दिलाउनु जो थियो उनलाई । भित्र महिला अधिकारकर्मी, मानवअधिकारवादीहरुको बाक्लै उपस्थिति थियो । कोसँग के कुरा गर्ने थाहा भएन । अतिथि बनेकी एक महिला अधिकारवादीलाई आफ्नो दुखेसो पोख्ने निधोका साथ उनी ढोकामा कुरेर बसिरहिन् । ठूला ठूला भाषण भए, गोष्ठी सकियो । त्यसपछिको खानपिन पनि सकाएर कार्यक्रमकी ति अतिथि बाहिर निस्कदै थिइन् । सिमा नजिकै गइन् र आफु अन्यायमा परेको, घरेलु हिंसामा पीडित बनेको बताउने कोसिस गरिन् । तर, उताबाट जवाफ आयो, “खै बाटो छोड्नुस् । तपाईजस्तो यहाँ कैयौं छन् । सुन्ने फुर्सद छैन । मलाई अर्को गोष्ठीमा जान लेट भइसक्यो ।”
उनी त्यही महिला अधिकारकर्मी थिइन् जो भर्खरै सकिएको गोस्टिमा भाषणमा भन्दै थिईन “महिला हक, हितको लागि कुनै कसर बाँकी राखिने छैन ।”

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?