अष्ट्रेलियाले दुई वर्षमा शरणार्थी बन्न समुद्रबाट आउने ६ सय ९८ जनालाई फिर्ता पठायो


अष्ट्रेलिया विश्वमै बस्नका लागि राम्रो गन्तव्य मानिन्छ । यहाँको सामाजिक संरचना र कानूनी शासनका कारणले धेरै मानिसहरु बसाईका लागि अष्ट्रेलियालाई आफ्नो गन्तव्य बनाउने गर्दछन् । यसक्रममा विभिन्न देशहरुबाट शरणार्थीका रुपमा अष्ट्रेलिया आउन चाहनेहरको संख्या गएको ६ सय दिनमा शून्य भएको भन्दै सरकारले आफ्नो नीतिलाई निरन्तरता दिने भएको छ । शुक्रबार समुद्री मार्गबाट शरण माग्न आउनेहरुलाई उनीहरु आएकै ठाउँमा फर्काउने नीति अष्ट्रेलियाको सरकारले लागू गरेको ६ सय दिन पुग्दैछ । यसै अवसरमा बोल्दै अध्यागमन मन्त्री पिटर डट्टनले भनेका छन्, हामीले यो ६ सय दिनमा २५ बोट र ६ सय ९८ मानिसहरुलाई उनीहरु आएकै ठाउँमा फर्काउन सफल भएका छौं । australiaअष्ट्रेलियन सरकारको नीति अन्तर्गत यसरी समुद्री मार्गबाट शरण खोज्दै आउनेहरुलाई उनीहरुकै देश या नजिकैका टापुहरुमा बनाइएका बन्दीगृहमा राख्ने गरिएको छ र उनीहरुलाई फिर्ता पठाउने गरिएको छ । सन् २०१३ मा यो नीति लागू गर्नुअघि २ हजार बालबालिका यस्ता शरणार्थी राख्ने गृहमा भएकोमा अहिले यो संख्या २९ मात्र छ । यसलाई मन्त्री डट्टनले सफलताको संज्ञा दिएका छन् । उनी भन्छन्, “हामीले यो तथ्यलाई पनि ध्यान दिन जरुरी छ कि नयाँ नीति आएको यो ६ सय दिनको समयमा धेरै मानिसहरुको ज्यान बचाउन पनि हामी सफल भएका छौं ।” यसअघि सन् २००८ देखि २०१३ को बीचमा करिब १२ सय मानिसहरुले अष्ट्रेलियामा शरणार्थीको रुपमा आउने क्रममा ज्यान गुमाएका थिए । मन्त्री डट्टनले यस्तो दाबी गरेपनि मानव अधिकारवादीहरुले भने शरण नदिने नीति मानव अधिकारविरोधी भएको, शरणार्थी क्याम्पहरुमा राखिएका व्यक्तिहरुको मानव अधिकार, हनन भएको बालबालिका र महिलाहरुमाथि हिंसा भएको लगायतको आरोप लगाउने गरेका छन् ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?