सांगीतिक उत्सवसहित यसरी मनाए होली मेलबर्नवासी नेपालीले


geet jatra1एस ईभेन्ट्स एण्ड मल्टिमिडिया र सोलाङ्चरको संयुक्त आयोजनामा आइतबार भव्यताका साथ सांगीतिक जात्राको तेश्रो संस्करण मेलबर्नमा मनाइएको छ । होली पर्वको अवसर पारेर मेलबर्नको ब्रन्सविकस्थित गिल्पीन पार्कमा आयोजना गरिएको सांगीतिक जात्रामा गीतसंगीतको मनोरञ्जनका साथै होली पर्वमा रंगको रमाइलो र विभिन्न खानाका परिकारहरुसहितको स्टलले आगन्तुकहरुलाई आकर्षित गरेको थियो । मध्यान्ह १२ बजेबाट सुरु भएको कार्यक्रममा विभिन्न नेपाली व्याण्डहरुले सांगीतिक प्रस्तुति दिएका थिए । यस्तै लाखे नाच समेत उक्त अवसरमा देखाइएको थियो । नेपाली गीत र संगीतमा झुम्दै होली मनाउन करिब एक हजारभन्दा बढी नेपालीहरु त्यहाँ उपस्थित थिए । कार्यक्रमलाई आकर्षक बनाउनका लागि कन्सर्टसँगै खानाका विभिन्न स्टलहरु, डिजे सेसन, मम खाने प्रतियोगिता राखिएको थियो भने बालबालिकाहरुको निम्ति छुट्टै खेलहरु पनि आयोजित थियो । कार्यक्रममा नेपाली समूदायका युवा युवतीका साथै स्थानीय अन्य समूदायका व्यक्तिहरु समेत होली पर्व मनाउन रंगहरुमा खेलिरहेको भेट्न सकिन्थ्यो । geet jatraकार्यक्रमलाई एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजले मुख्य प्रायोजन गरेको थियो । कार्यक्रममा सहभागी युवाहरुको उत्साहलाई हौसला प्रदान गर्न भिक्टोरियाका लागि अवैतनिक महावाणिज्यदूत चन्द्र योञ्जन, नेप्लीज एशोसिएसन अफ भिक्टोरियाका अध्यक्ष सुधिर शाक्यसहित समाजका अगुवा बम योञ्जनपनि कार्यक्रमस्थलमा हुनुहुन्थ्यो । कन्सर्टको उत्कर्षमा मोक्ष व्याण्डले आफ्ना विभिन्न प्रस्तुतिका साथै नेपाली धुनमा उपस्थित दर्शकहरुलाई नाच्न बाध्य बनाएको थियो ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?