जेलबाट धरौटीमा रिहा हुँदैगर्दा ल्हारक्याल लामाले भने म पत्रकार सम्मेलन गर्छु


एकीकृत नेकपा ९माओवादी०का निलम्बित सांसद् ल्हारक्याल लामा वैदेशिक रोजगारीसम्बन्धी ठगी मुद्दामा धरौटीमा रिहा भएका छन् । वैदेशिक रोजगार विभागका प्रवक्ता एवम् निर्देशक जनक रेग्मीले वैदेशिक रोजगारीसम्बन्धी ठगी मुद्दामा बयान लिएपछि रु ३० लाख धरौटीमा छाड्ने निर्णय गरिएको जानकारी दिनुभयो । गत फागुन ३० गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगले लामाको सम्पत्ति छानबिनका क्रममा बैंकको लकर जाँच गर्दा १४ थान गोली बरामद भएपछि उहाँ पक्राउ पर्नुभएको थियो । पक्राउ पर्नुभएका लामालाई गोली बरामद विषयमा गत आइतबार जिल्ला प्रशासन कार्यालय काठमाडौँले धरौटीमा छोडेलगत्रैन वैदेशिक रोजगारीसम्बन्धी ठगीको पुरानो मुद्दामा विभागको आग्रहमा प्रहरीले पुनःपक्राउ गरेको थियो । पीडित केशवबहादुर गुरूङले आफूलाई दुई वर्षअघि वैदेशिक रोजगारीमा पठाउने भनी रकम लिएर नपठाएको भन्दै लामाविरूद्ध विभागमा उजुरी दिएका थिए । प्रवक्ता रेग्मीले लामा रिहा भए पनि उहाँका बारेमा परेको उजुरीका सम्बन्धमा छानबिन जारी रहेको जानकारी दिनुभयो । यस विषयमा लामाले केही दिनमै पत्रकार सम्मेलन गरेर यथार्थ जानकारी दिने बताएका छन् भने उनले आफुलाई फसकाएको पनि दाबी गरे ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?