ब्रसेल्सको जाभेन्तम विमानस्थल मङ्गलबारबाट मात्र सुचारु हुने, सुरक्षामा नयाँ व्यवस्था गरिने


बेल्जियमको राजधानी ब्रसेल्समा रहेको प्रमुख अन्तर्राष्ट्रिय विमानस्थल आगामी मङ्गलबार मात्र खोल्ने भएको छ । उक्त विमानस्थलमा गतहप्ता आतङ्ककारीहरूको आक्रमणमा परी ठूलो क्षति पुगेको छ । brusselsबेल्जियमको राजधानी सहर ब्रसेल्सको बिमानस्थल र भूमिगत मालबेक मेट्रो स्टेसनमा गएको मङ्गलबार भएको आक्रमणपछि त्यहाँको सुरक्षा व्यवस्था भने निकै कडा पारिएको छ । ब्रसेल्स प्रहरीले कैयौँ व्यक्ति पक्राउ गरेको र अनुसन्धान सुरु गरेको जनाएको छ । यस विषयका समाचार आइरहेका छन् । ब्रसेल्सको जाभेन्तम विमानस्थलमा आगामी मार्च २९, मङ्गलबारदेखि मात्र राष्ट्रिय र अन्तर्राष्ट्रिय तथा राष्ट्रिय उडानहरू पुनः सुचारु हुने जानकारी उक्त विमानस्थलले शनिबार दिएको बताइएको छ । उक्त विमानस्थलको सुरक्षा व्यवस्था निकै कडा तुल्याइएको बताइएको छ । साथै विमानस्थल सञ्चालनका लागि आगामी दिनमा नयाँ सुरक्षा मापदण्ड लागू गर्न लागिएको जनाइएको छ ।
ब्रसेल्सको प्रान्तीय सरकारले सुरु गर्न लागेको भनिएको उक्त नयाँ सुरक्षा व्यवस्था कस्तो हो र विगतको तुलनामा के कस्तो सुधार गरिँदैछ भन्ने बारेमा भने केही बताइएको छैन । र पनि यसअघि भएको सो हमलाका लागि त्यहाँको सुरक्षा व्यवस्थालाई नै बढी मात्रामा दोषी देखाइएको थियो । उक्त विमानस्थलको प्रस्थान कक्षमा सुरक्षा जाँचको प्रबन्ध पनि त्यति राम्रो नरहेको र यसै कारणले गर्दा नै सो आक्रमण भएको अनुमान गरिएको छ । आक्रमण पनि सोही कक्षमा नै भएको थियो । त्यसमा परी मारिने व्यक्तिको सङ्ख्या ३५ पुगेको जानकारी राष्ट्रिय प्रहरीले दिएका छन् । घाइतेको अवस्था पनि गम्भीर रहेको छ ।
यस आक्रमणमा परी घाइते हुने व्यक्तिको सङ्ख्या २६० जनाभन्दा बढी रहेको छ । अधिकांश घाइते गम्भीर अवस्थामा उपचार गराइरहेका छन् । चिकित्सकहरूले अझै पनि बेहोस अवस्थामा रहेका घाइते दर्जनौँ रहेका बताइएको छ । यस आक्रमणका दोषीको पहिचान भइसकेको छ । दोषीमाथिको कारबाहीका लागि प्रहरीले प्रक्रिया पनि सुरु गरेको छ । सो आक्रमणमा सम्लग्नमध्येका दुईको ज्यान गइसकेको छ । दुई दाजुभाइले ब्रसेल्सको विमानस्थल र मेट्रो स्टेसनमा छुट्टाछुट्टै हमला गरेका थिए । उक्त कारबाही आत्मघाती रहेकाले उनीहरू दुवै जना मारिएका छन् । प्राप्त पछिल्लो समाचारमा बिहीबार मात्र ब्रसेल्समा थप छ जना संदिग्धलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । तर पक्राउ परेका व्यक्तिको पहिचान भने उसले दिएको छैन । अधिकारीहरूले बिहीबार प्रकाशन गरेको विज्ञप्तिमा आक्रमणका प्रमुख दोषीको खोजी अभियान जारी नै रहेको बताएका छन् । प्रहरीले ब्रसेल्स र अरु कैयौँ नगरमा पनि व्यापक मात्रामा खोजी अभियान जारी राखेको जनाएको छ । आत्मघाती हमलामा सम्लग्न व्यक्तिको निवासस्थानको खोजी गरी उनीहरूसँग सम्बन्धित सूचना लिने काम प्रहरीले गरेको छ । यस आक्रमणपछि युरोपका विभिन्न देशमा पनि सुरक्षा व्यवस्था कडा पारिएको बताइएको छ । गत वर्ष फ्रान्सको राजधानी पेरिसमा भएको शक्तिशाली आतङ्कवादी हमलापछि युरोपमा विभिन्न देशमा सुरक्षामा कडाई गरिएको बताइएको छ । तिनै पेरिसका हमलाकारी एवम् योजनाकारहरूकै संलग्नतामा नै ब्रसेल्समा सो हमला गरिएको बताइएको छ । यसका कारण युरोपमा अरू देशको पनि सुरक्षामा कडाई गरिएको बताइएको छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?