लडाकुले ध्वस्त बनाएका सिरियाका ऐतिहासिक धरोहर पुननिर्माण गर्न पाँच वर्ष लाग्ने
सिरियाको प्राचीन महत्वका सांस्कृतिक एवम् ऐतिहासिक सम्पदा विभाग प्रमुखले आइतबार सञ्चारकर्मीबीच बोल्नुहुँदै सरकारले इस्लामिक लडाकू समूहको कब्जामा रहँदा ध्वस्त बनाइएका संरचनालाई पुनःनिर्माण गर्न पाँच वर्ष लाग्ने बताउनुभएको छ । सिरियाली राष्ट्रपति बसर अल असदले आइतबार इस्लामिक स्टेट समूहद्वारा नियन्त्रित पालमिरा अब सरकारकोे अधिनमा आइसकेको भन्दै आइतबारसरकारी सुरक्षाफौजको प्रशंसा गर्नुभएको थियो । “यदि हामीलाई युनेस्कोले अनुमति दिएमा सहरका सम्पदालाई पुरानो अवस्थामा ल्याउन सिरिया सरकारलाई करीब पाँच वर्षको समय प्रशस्त हुनेछ त्यसपछि प्राचीन सहर पूरानै अवस्थामा फर्किने छ,” महमुल अदुलकारिमले भन्नुभयो । हामीसँग कुशल एवम् सक्षम कर्मचारी छन् । उनीहरुले सम्पदाको पुरानो अवस्थाबारे अध्ययन तथा अनुसन्धान गर्नेछन् त्यसपछि पुनःनिर्माणमा अग्रसर गराइने छ, उहाँले थप्नुभयो । तर, पुनःनिर्माण तत्कालै अर्थात् एक वर्षभित्र सुरु गर्न सकिने अवस्था छैन । प्राचीन सहर पालमिरालाई आईएसले कब्जामा लिने क्रममा यहाँका प्राचीन शैलीका मठमन्दिरमाथि आक्रमण गरेर सम्पदालाई विरुप पारेको बताउनुहुँदै उहाँले भन्नुभयो, प्राचीन महत्वका स्थानहरुलाई बिगारे पनि करिब ८० प्रतिशत भने अघिको अवस्थामा ल्याउन सकिने अवस्था छ किनकी ध्वस्त ती अवशेष प्रयोग गर्न सकिने अवस्थामा छन् ।
बाँकी २० प्रतिशत भने पूर्ण नाश भएका अवस्थामा वा तिनीहरुलाई पुनः प्रयोग गर्न नसकिने अवस्थामा छन् । आईएसले गएको वर्ष मे तथा नोभेम्बर महिनामा पालमिरा सहरमाथि आक्रमण गरी प्राचीन शैलीका सम्पदालाई ध्वस्त पारेपछि विश्व समुदायले यसबारे गहिरो चासो राखेको थियो । आईएस विद्रोहीले पालमिरा सहरमा करिब दुई हजार वर्ष र यसभन्दा पनि पुराना मन्दिरलगायतका सम्पदामाथि आक्रमण गरी ध्वस्त पारेका थिए । फ्रान्सेली सांसदहरुसँगको वार्ताका क्रममा दमास्कसमा उहाँले भन्नुभयो, सरकार आतङ्कवादलाई सिरियाबाट परास्त गरेरै छाड्ने छ । सरकारले प्राचीन सहर पालमिराबाट आतङ्कवादी समूहका गतिविधिलाई निस्तेज पारी आइतबार बिहान उनीहरुलाई त्यहाँबाट पछिहट्न बाध्य बनाइसकेको, असद भनाइ छ । रसियाली राष्ट्रपति भ्लादिमिर पुटिनले आइतबार फोन गरी सिरियाली राष्ट्रपति बसर अल असदलाई यहाँको प्राचीन पालमिरा सहरलाई आतङ्कवादीको कब्जाबाट फिर्ता लिन सफल भएको भन्दै धन्यवाद ज्ञापन गर्नुभएको छ । प्राचीन सम्पदाको धनी पालमिरा र यहाँका जनतालाई आतङ्ककारीको चङ्गुलबाट नियन्त्रणमा लिएकोमा खुशी व्यक्त गर्दै विश्वको प्राचीन सभ्यतालाई जोगाउन सफल भएकोमा सिरियाली सरकारी सुरक्षाफौजको प्रशंसा गर्नुभएको हो । उहाँले पालमिराले छिट्टै पूरानो सौन्दर्य पाउनेमा विश्वास व्यक्त गर्नु भयो ।