लाहोरमा भएको आतंकवादी हमलाको विश्वभर निन्दा, जिम्मा पाकिस्तानी तालिवानले लियो
पूर्वी पाकिस्तानमा आइतबार भएको आत्मघाती आक्रमणको संयुक्त राष्ट्रसङ्घीय महासचिव बान कि मुनले कडा शब्दमा निन्दा गर्नुभएको छ । उहाँले नागरिकको स्वतन्त्रपूर्वक बस्न र हिँड्डुल गर्न पाउने नैसर्गित अधिकारको हिंसात्मक रुपमा हनन् गरिएको यस घटनाको निन्दा जतिधेरै शब्दमा गरेपनि पुग्दैन भन्दै महासचिव बानले दोषीमाथि कडा भन्दा कडा कारबाही गर्न माग गर्नुभएको छ ।
उहाँले यस्ता आतङ्कवादी क्रियाकलापले कसैको पनि भलो नगर्ने भन्दै जस्तोसुकै माग पनि शान्तिपूर्ण रुपमा पूरा हुनसक्नेतर्फ सबैको ध्यान जानुपर्नेमा पनि जोड दिनुभएको छ । आइतबार अबेर उहाँले विज्ञप्ति प्रकाशन गरी पाकिस्तानका हरेक नागरिकको सुरक्षा एवम् त्यहाँका अल्पसङ्ख्यक जाती एवम् धार्मिक सम्प्रदायको रक्षाका लागि पाकिस्तानी सरकारसँग माग पनि गर्नुभएको छ । उहाँले यस्ता हिंसात्मक घटनाबाट निर्दाेष एवम् सर्वसधारण नागरिकको जिवन रक्षाका लागि सबैका ध्यान पुग्नुपर्नेमा पनि जोड दिनुभएको छ । महासचिव बानले सो विज्ञप्तिमा यस आक्रमणमा मारिएका व्यक्तिप्रति श्रद्धान्जलि व्यक्त गर्दै उनीहरुका परिवारजनप्रति समवेदना प्रकट गर्नुभएको छ । साथै यस दुःखद घडीमा पाकिस्तानी जनता र सरकारलाई सान्त्वता दिँदै आफू सधैं पाकिस्तानी जनताको साथमा रहेको पनि जनाउनु भएको छ । संयुक्त राष्ट्रसङ्घीय साधारणसभाका अध्यक्ष मोजेन्स लिकेटफटले पनि आइतबार बेलुका भएको यस आक्रमणबाट ठूलो सङ्ख्यामा बालबालिकासहित महिला र पुरुष मारिएको यस घटनाबाट आफू स्तब्ध भएको बताउनु भएको छ ।
मृत्यु हुनेको सङ्ख्या ७० पुग्यो
यसैबीच पाकिस्तानको पूर्वी भागमा रहेको लाहोर सहरमा रहेको एक सार्वजनिक पार्कमा भएको यस आत्मघाती आक्रमणमा मृत्यु हुनेको सङ्ख्या कम्तीमा पनि ७० पुगेको समाचारमा जनाइएको छ । त्यस घटनामा परी ज्यान जानेको सङ्ख्या गएराति र सोमबार बिहानसम्म पनि बढिरहेको बताइएको छ । आइतबार साँझपख सो दुर्घटना भएको हो । आइतबारको दिन विदामा रहेका बालबालिकालाई लिएर त्यहाँ पुगेका नागरिक बमको शिकार भएका थिए । घटनास्थलको अवस्था अत्यन्तै दर्दनाक देखिन्थ्यो भने बालबालिका पनि यसको शिकार भएका थिए । यस आक्रमणमा कम्तीमा तीन सय व्यक्ति घाइते भएका छन् । सो आक्रमणमा मारिएकामा ठूलो सङ्ख्या महिला र बालबालिका रहेका छन् । घाइते सबैको उपचार जारी रहेको स्वास्थ्य अधिकारीले जनाएका छन् । उनीहरुले कैयौँको अवस्था निकै नै गम्भीर रहेको जानकारी दिएका छन् । गम्भीर अवस्थामा उपचाररत घाइतेको अवस्था हेर्दा मृत्यु हुनेको सङ्ख्या अझै धेरै पुग्नसक्ने उपचाररत अस्पतालका अधिकारीहरुले जनाएका छन् । पाकिस्तानी प्रधानमन्त्री नवाज शरिफले यस घटनाका दोषीलाई कुनैपनि हालतमा नछोडिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । उहाँले देशबाट आतङ्कवादको जरो उखेलेरै फाल्ने भन्दै सर्वसधारण नागरिक र निर्दाेष बालबालिकको हत्या गरेर कसैको पनि कुनै उद्देश्य प्राप्त नहुने पनि उहाँले बताउनुभएको छ ।
जिम्मेवारी पाकिस्तानी तालिवानले लियो
यस आक्रमणको जिम्मा पाकिस्तानी तालिवानसँग सम्बन्धित एक आतङ्ककारी समूहले लिएको छ । सो आक्रमण आपूmहरुले गराएको सो समूहले आइतबारै अबेर राति जानकारी दिएको हो ।