दक्षिण एसियाली बास्केटबलमा नेपालको लगातार तेस्रो जित
नेपालले राजधानीमा जारी प्रथम दक्षिण एसियाली महिला बास्केटबल च्याम्पियनसिपमा लगातार तेस्रो जित दर्ता गरेको छ ।
पहिलो खेलमा बंगलादेशलाई र दोस्रो खेलमा माल्दिभ्सलाई हराएको नेपालले विहीबार भुटानलाई पराजित गरेको हो ।
राष्ट्रिय खेलकुद परिषदको कभर्डहलमा भएको खेलमा नेपालले भुटानलाई ९०–३२ ले हरायो ।
भुटानविरुद्ध चारओटै क्वार्टर जितेको नेपालले पहिलो क्वार्टर २४–९, दोस्रो ३४–६, तेस्रो १६–७ र चौथो क्वार्टर १६–१० ले जित्दै खेल आफ्नो पक्षमा पारेको हो ।
लगातार तेस्रो जित हासिल गरेसँगै नेपाल प्रतियोगिताको उपाधिनजिक पुगेको छ ।
‘राउन्ड रोविन लिग’का आधारमा सन्चालन भएको प्रतियोगिताको अन्तिम खेलमा शनिबार श्रीलंकालाई पराजित गर्नसके नेपाल पहिलोपटक आयोजना भएको दक्षिण एसियाली महिला बास्केटबल प्रतियोगिताको उपाधि घरमै राख्न सफल हुनेछ ।
बलियो टोली श्रीलंका प्रतियोगितामा आफूले खेलेको दुबै खेलमा अपराजित छ । श्रीलंकाले तेस्रो खेलमा शुक्रबार बंगलादेशको सामना गर्दैछ ।