विश्वकै गोप्य भनिएका कागजात सार्वजनिक, शक्तिशाली भनिएकाहरुको अनुहार उदांगियो


Panamaविश्वमै गोपनीयताका साथ काम गर्ने भनेर चिनिने पानामाको कानुनी केन्द्र मोसाका फोनसेकाको एक करोड १० लाख वटा गोपनीय कागजात लिक भएको छ । लिक भएका कागजात अनुसार विश्वका धनी तथा शक्तिशाली व्यक्तिले सम्पत्ति लुकाउनका लागि कर छली गर्ने गरेको खुलेको छ ।

सार्वजनिक भएका कागजात अनुसार मोसाका फोनसेकले आफ्ना ग्राहकको कालो धनलाई वैध बनाउन, प्रतिबन्धबाट जोगाउन र कर छलीमा सहयोग गर्ने गरेको खुलेको छ ।

कम्पनीले गएको ४० वर्षदेखि बिना कुनै आरोप काम गर्दै आएको बताएको छ । कागजातका अनुसार विश्वका ७२ वर्तमान वा पूर्व राष्ट्राध्यक्ष यो कम्पनीसँग जोडिएका छन् ।

यसमा आफ्नै देशलाई लुटेको आरोप लागेका धेरै पूर्व तानाशाह छन् । जर्मनीको पत्रिका जुटडायच ट्सायटुन्गले यी कागजात प्राप्त गरेको र इन्टरनेशनल कान्सोर्टियम अफ इन्वेस्टिगेटिव जर्न्लिस्ट आईसिआईजेसँग मिलेर सार्वजनिक गरेको हो । मोसाक फोन्सेकाको प्रत्येक दिनको कामको जानकारी सहितका कागजात प्राप्त भएको आईसिआईजेका निर्देशक गेरार्ड राइलले बताउनुभयो ।

यी कागजातमा इजिप्टका पूर्व तानाशाह होस्नी मुबारक, लिबियाका पूर्व शासक मुअम्मर गद्दाफी तथा सिरियाका राष्ट्रपति बसर अल असदको परिवार, उनीहरुका सहयोगसँग जोडिएका कम्पनीका गोपनीय जानकारी छन् । कागजातबाट रुसी बैंकसँग सम्बन्ध रहेको अर्बौं खोटाला गर्ने एक संदिग्ध गिरोहको पनि पत्ता लागेको छ ।

यो गिरोहको सम्बन्ध रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका नजिकका सहयोगीसँग सम्बन्धित छ । यो गिरोहले बैंक सिरियासँग  मिलेर काम गर्ने गरेको कागजातमा उल्लेख छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?