२९ वर्षसम्म फरार अभियुक्त पक्राउ
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले २९ वर्षसम्म फरार रहेका एक अपराधीलाई पक्राउ गरेको छ । ब्यूरोले ज्यानसम्बन्धी मुद्दामा २९ वर्षसम्म फरार रहेका ६५ वर्षीय विष्णुबहादुर थापालाई फैसला कार्यान्वयनको सिलसिलामा भद्रबासबाट पक्राउ गरेको हो ।
प्रेमबहादुर बस्नेतको जाहेरीले वादी नेपाल सरकार भई प्रतिवादी थापासमेत रहेको ज्यानसम्बन्धी एक मुद्दामा उनी फरार रहँदै आएका थिए । घटनापछि उनी २०४३ भदौ १२ गतेदेखि बेपत्ता भएका हुन् ।
पुनरावेदन अदालत पाटनको २०५० वैशाख २७ गतेको फैसलामा थापालाई दुई वर्ष दुई महिना १२ दिन कैद र ५ सय ५० रुपैयाँ जरिवाना तोकिएको थियो । अदालतले तोकेको कैद तथा जरिवाना भुक्तान नगरी उनी बेपत्ता भएका थिए ।
थापालाई काठमाडौँ जिल्ला अदालतमा पेस गरिएकामा अदालतको आदेशले कैद भुक्तानका लागि केन्द्रीय कारागार जगन्नाथदेवल, सुन्धारामा पठाइएको ब्युरोले जनाएको छ ।