एक करोड नक्कली भारतीय रुपैयाँसहित ६ जना पक्राउ


Pakrau

एक करोड नक्कली भारतीय रुपैयाँसहित प्रहरीले ६ जनालाई काठमाडौंबाट पक्राउ गरेको छ । ठमेल, बानेश्वर र बल्खुबाट नक्कली जस्तो देखिने ५ सय दरका २० हजार थान गरी १ करोड भारतीय रुपैयाँ सहित ६ जनालाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा पाकिस्तान कराचीका महम्मद नदिम, काठमाडौं बानेश्वर बस्ने मकवानपुर हरनामाडीकी ५५ वर्षीया उमादेबी पाण्डे, नोटको कारोबार गर्न काठमाडौं आएका बारा सिमरा–५ का ५६ वर्षीय महादेव तिमिल्सिना, महोत्तरी माइस्थान–८ का ४० वर्षीय दिलबहादुर थापा, पर्सा भौराटार–७ का ५८ वर्षीय परमानन्द यादव र बारा गन्जभवानीपुरका इश्वरप्रसाद साह तेली रहेका छन् ।

उनीहरुमध्ये नदिमलाई ५० लाखसहित ठमेलबाट, तिमिल्सिनालाई ५० लाखसहित बानेश्वरबाट, पाण्डेलाई बानेश्वरबाट र थापालाई बल्खुबाट चैत २२ गते तथा यादव र तेलीलाई चैत २४ गते बल्खुबाट पक्राउ गरेको प्रहरीले बताएको छ ।

नदिमले कराँची दोहा हुँदै कतार एयरवेजबाट नक्कली भारतीय रुपैयाँ काठमाडौं ल्याएको, पाण्डेले नदिमसँग बुझी वीरगन्जबाट आएका तिमिल्सिनालाई बुझाउने जिम्मेवारी लिएको, थापाले तिमिल्सिनासँग सामान बुझी भारततर्फ लैजाने तथा यादव र तेलीले बजार वितरण गर्ने जिम्मेवारी लिएको अनुसन्धानमा देखिएको छ ।

अनुसन्धानको क्रममा खुलेका अन्य संलग्न पाकिस्तानी, भारतीय र नेपाली नागरिक हाल फरार रहेकोले खोजी भइरहेको महानगरीय प्रहरी कार्यालय रानीपोखरीमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?