लाल सागरमा पुल बनाउने साउदी अरबका राजाको महत्वाकांक्षी घोषणा
साउदी अरबका राजा सलमानले इजिप्टलाई सडक मार्गबाट जोड्न लाल सागरमा पुल बनाउने घोषणा गरेका छन् ।
पाँच दिने इजिप्ट भ्रमणमा रहेका साउदीका राजा सलमानले कायरोमा भएको एक कार्यक्रममा लाल सागरमा पुल बनाउने महत्वाकांक्षी घोषणा गरेका हुन् । उनले लाल सागरमा पुल बनाउने विषयमा दुवै देशबीच सहमति भएको बताए ।
एसिया र अफ्रिकी महादेशलाई जोड्न लाल सागरमा पुल बनाउँदा साउदी अरब र इजिप्टबीच व्यापार बढ्ने उनको विश्वास छ । यो पुल बनाउन तीनदेखि चार अर्ब डलर खर्च लाग्ने अनुमान छ ।
यसैबीच इजिप्टको नेतृत्व गरिरहेका अब्दुल अल सीसीले यो निर्णय अरब एकताको इतिहासमा नयाँ अध्याय भएको बताए । इजिप्टको नेतृत्व सन् २०१३ देखि अब्दुल अल सीसीले गरिरहेका छन् । उनी सत्तामा आएपछि साउदी अरब र अन्य खाडी देशहरुले अर्बौ डलर सहयोग गरेका छन् ।
लाल सागरमा पुल बनाउने प्रस्ताव यसअघि पनि आएको थियो । तर यसले मूर्त रुप लिन सकेको थिएन ।