पर्थमा वाक फर वेलफेयर सम्पन्न, उत्साहजनक सहभागिता
एनआरएन अष्ट्रेलियाले अष्ट्रेलियाका विभिन्न शहरमा आयोजना गरेको वाक फर वेलफेयरको पर्थ संस्करण सम्पन्न भएको छ । शनिबार स्थानीय ब्रजउड पार्कबाट सुरु भएर साथपार्क पुगी फेरि ब्रजउड पार्कमै आएर सकिएको थियो । ९२ जनाले कार्यक्रममा सहभागिताको निम्ति दर्ता गरेका थिए भने पदयात्रा सकिएपछि आयोजना गरिएको कार्यक्रममा सहभागीहरुलाई प्रमाणपत्र वितरण गरिएको थियो । कार्यक्रममा सहभागी हुन एनआरएनका ग्लोबल युथ कोअर्डिनेटर विजय पोखरेल पुग्नुभएको थियो । वाक फर वेलफेयर एनआरएन अष्ट्रेलियाले विद्यार्थी कल्याणकारी कोष निर्माणका निम्ति सुरु गरेको महत्वकांक्षी योजना हो । यस अन्तर्गत १ लाख डलरको कोष निर्माण गर्ने र यसबाट अष्ट्रेलियनमा पढ्न आउने नेपाली विद्यार्थीहरुलाई आइपर्ने समस्या, तिनको समाधान र उनीहरुको क्षमता अभिबृद्धिको निम्ति विभिन्न सूचनामूलक र जानकारीमूलक कार्यक्रमहरु समेत सञ्चालन गर्ने उद्देश्य राखिएको छ । कार्यक्रमपछि स्थानीय सहकर्मी कमल सिलवालसँग कुरा गर्दै एनआरएन अष्ट्रेलियाका उपाध्यक्ष राज थपलियाले यति सानो ठाउँमा पनि ९२ जनाको सहभागिता हुनु वास्तवमै ऐतिहासिक बनेको बताउनुभयो । सहभागिताका निम्ति धेरैको चासो भएपनि शुल्क महँगो भएको गुनासो धेरैबाट आएको बताउँदै थपलियाले आगामी दिनमा एनआरएनले गर्ने कार्यक्रममा यस सम्बन्धमा विचार गरिने बताउनुभयो ।
यस्तै वाकफर वेलफेयरका वेष्टर्न अष्ट्रेलिया संयोजक शेखर घिमिरेले आफुहरु सहभागिताबाट उत्साही बनेको बताउनुभयो । साथै उहाँले सक्रिय सहभागिता जनाउने सबैमा र यसलाई प्रायोजन गर्ने तथा प्रचारप्रसार गरेर अन्य समूदायसम्म लगिदिने सञ्चारकर्मीहरुलाई पनि धन्यवाद दिनुभएको छ । कार्यक्रममा बोल्दै एनआरएन युवा संयोजक विजय पोखरेलले युवाहरु मिलेर देशका निम्ति केही गर्नका लागि अक्टोबरमा नेपालमा प्रथम युवा सम्मेलन गर्ने तयारीमा आफुहरु रहेको भन्दै यसमा सबैको सहयोगको अपेक्षा गरेको पनि बताउनुभयो । वाकफर वेलफेयरमा पर्थमा देखिएको उत्साहबाट आफुलाई ऊर्जा मिलेको उहाँको भनाई थियो ।
कार्यक्रमपछि प्रतिक्रिया दिँदै एनआरएन वेष्टर्न अष्ट्रेलियाका उपसंयोजक दिपक शर्माले विद्यार्थीका लागि थालिएको अभियानमा पाएको साथले हर्षित बनेको बताउनुभएको थियो ।