पाथीभरा श्रद्धाश्रम निर्माण कार्यलाई तिव्रता दिइने, न्यूसाउथवेल्सबाटै ५० लाख सहयोग संकलन गर्ने पोखरेलको प्रतिबद्धता


एनआरएन अष्ट्रेलियाले विराटनगरमा बनाउँदै गरेको पाथीभरा श्रद्धाश्रमको निर्माण कार्यलाई गति प्रदान गर्ने विषयमा एनआरएन अष्ट्रेलियाका पदाधिकारी र समाजका अगुवाहरुबीच अन्तरक्रिया सम्पन्न भएको छ । Dinesh Pokhrelअहिलेसम्म भएको कार्यप्रगतिको विषयमा जानकारी गराउने उद्देश्यले आयोजना गरिएको छलफल कार्यक्रममा एनआरएन अष्ट्रेलिया पाथीभरा श्रद्धाश्रम निर्माण समितिको तर्फबाट कार्यप्रगति विवरण प्रस्तुत गरिएको थियो । अहिलेसम्म भएका कामहरु, दाताले उपलब्ध गराएको सहयोग, अबका दिनमा गर्नुपर्ने कार्यहरु समेटिएको विवरण टास्क फोर्सका सचिव राजन सिटौलले प्रस्तुत गरेका थिए । यसलगत्तै पाथीभरा श्रद्धाश्रमलाई कसरी रफलतापूर्वक निर्माण गर्न सकिन्छ भन्ने विषयमा आफ्नो विचार राख्दै उपस्थितहरुले टास्क फोर्सलाई विभिन्न सुझाव दिएका थिए । एनआरएन अष्ट्रेलियाका अध्यक्ष सुरेन्द्र सिग्देलले परियोजना सफल बताउनका लागि आफुले भरमग्दुर प्रयास गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए । यसैगरी क्षेत्रीय संयोजक महेन्द्र लम्सालले सहयोग रकम संकलन कार्यलाई प्रभावकारी बनाउन विभिन्न कार्यक्रम ल्याउनुपर्नेमा जोड दिए । छलफल कार्यक्रममा उपस्थित एनआरएन न्यूसाउथवेल्सका संयोजक दिनेश पोखरेलले न्यूसाउथवेल्सबाट सक्रिय सहभागिता रहने प्रतिबद्धता व्यक्त गर्दै उक्त योजनालाई सफल पार्न सहयोग संकलनलाई तिव्रता दिँदै ५० लाख रुपैयाँ संकलन गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए । यसैगरी कार्यक्रममा एनआरएन अष्ट्रेलियाका पूर्वअध्यक्ष महेन्द्र ओलीले स्थानीय, समाजसेवी, व्यापारी र सर्वसाधारणको प्रयासमा आफुहरुले हातेमालो मात्रै गरेको र होस्टेमा हैंसे गर्दै यो परियोजना निर्माणमा अग्रसर भएको बताउनुभएको थियो । परियोजनालाई अहिलेसम्मको अवस्थामा ल्याउन सघाउने सबैलाई धन्यवाद दिँदै ओलीले छिटो निर्माण गर्नका लागि सबै अग्रसर हुनुपर्ने बताएका थिए । Rajan Sitaulaएनआरएन अष्ट्रेलियाको पाथीभरा श्रद्धाश्रम निर्माण परियोजनाका संयोजक रमेश पाण्डेले एनआरएनले अष्ट्रेलियाका सबै राज्यमा यस विषयमा कार्यक्रमहरु लैजानुपर्ने बताए । यसैगरी एनआरएन संरक्षक ईन्द्रा वनले एनआरएनको अन्य देशका सञ्जालमार्फत यो कार्यक्रमलाई सफल बनाउन अपिल गरेकी थिइन् भने समूदायका अगुवा जगदिश तिम्सिनाले कम्तिमा एनआरएनका सबै कार्यक्रममा यसको बारेमा चर्चा गर्ने र सहयोगका लागि अपिल गर्नुपर्ने बताएका थिए । कार्यक्रममा कृष्ण निरौला, सुवांश शाह, बाबुराम पोखरेल, सुदर्शन भुसाल, सन्दिप बास्कोटा, एनआरएनका प्रवक्ता डा. ज्ञानेन्द्र रेग्मी समेत सहभागी थिए । उक्त छलफलकै क्रममा विराटनगरकै स्थानीय बासिन्दा मुकेश रेग्मीले ११ लाख सहयोग गर्ने घोषणा गरेका थिए । उनले गरेको सहयोगमा अब पाथीभरा श्रद्धाश्रममा उनकै नामबाट एउटा कोठा बनाइने भएको छ । श्रद्धाश्रममा १० लाख सहयोग गर्ने व्यक्तिको नाममा कोठाको नामाकरण गर्ने योजना एनआरएन अष्ट्रेलियाको छ । यसअघि महेन्द्र ओली अध्यक्ष रहेको बेलामा सुरु भएको पाथीभरा श्रद्धाश्रम निर्माणको क्रम पछिल्लो समयमा सुस्त बन्दै गएको भन्दै नेपालमा सुरु गरिने परोपकारी कामहरुलाई निष्कर्शमा पुर्याउनुपर्ने तर्क धेरैको छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?