अष्ट्रेलियाका प्रधानमन्त्री र विपक्षी दलका नेताले दिए नेपालीहरुलाई नयाँ वर्षको शुभकामना
अष्ट्रेलियाका प्रधानमन्त्री मालकम ट्रनबुलले २०७३ सालको नयाँ वर्ष मनाउने सबै नेपालीमा शुभकामना व्यक्त गरेका छन् । विश्वमै सफल बहुसंस्कृतिको अभ्यास गरिरहेको देश अष्ट्रेलियावासी भएको बताउँदै प्रधानमन्त्री ट्रनबुलले विविधतामा एकता नै अष्ट्रेलियाको विशेषता भएको बताएका हुन् ।
उनले अष्ट्रेलियामा विभिन्न क्षेत्रमा रहेर यहाँको समाजमा योगदान दिने नेपालीहरुको स्मरण गर्दै नयाँ वर्षले सबैमा सुख र सम्बृद्धि ल्याउने अपेक्षा पनि गरेका छन् ।
विपक्षी दललेबर पार्टीको पनि शुभकामना
अष्ट्रेलियाको प्रमुख प्रतिपक्षी दल लेबर पार्टीका नेता बिल सोर्टन र नागरिकता एवं बहुसंस्कृति छायाँमन्त्री मिशेर रोल्याण्डले एक विज्ञप्ति जारी गर्दै नेपालीहरुको नयाँ वर्ष २०७३ को अवसरमा शुभकामना दिएका छन् । शुभकामना सन्देशमा अष्ट्रेलियावासी नेपालीहरुलाई नयाँ वर्षको शुभकामना दिँदै नेपाल्ीहरुको योगदानको चर्चा गरिएको छ । नेपालीहरुले व्यापार, विज्ञान, ईन्जिनियरिंग लगायतमा क्षेत्रमा गरिएको योगदानको चर्चा गरिएको छ । नेपाली समूदाय अष्ट्रेलियामा तिव्र गतिमा बृद्धि भइरहेको समूदायका रुपमा चित्रण गर्दै दोश्रो पुस्ताका नेपालीहरुले बहुसांस्कृतिक अष्ट्रेलियामा थप योगदान दिने अपेक्षा पनि शुभकामना सन्देशमा गरिएको छ । अष्ट्रेलियाको विविधता नै बल भएको लेख्दै शुभकामनामा विक्रम सम्वत २०७३ को नयाँ वर्ष मनाउने सबैमा सुख, शान्ति र सम्बृद्धि मिलोस् भन्ने कामना गरिएको छ ।