नामिबियालाई पराजित गरेपछि नेपाली क्रिकेट टोलीका कप्तान पारसले के भने ?
नेपाली क्रिकेट टोलीका कप्तान पारस खड्काले वल्र्ड क्रिकेट लिग च्याम्पियनसीपमा नामिबियाविरुद्धको खेलमा जित हात पारेपछि आफूहरु उत्साहित भएको बताएका छन् । उनले जितको श्रेय सम्पूर्ण टोलीलाई दिनुपर्ने भन्दै शरद भेषावकर र विनोद भण्डारीको ब्याटिङको खुलेर प्रशंसासमेत गरेका छन् ।
नामिबियाविरुद्ध ५ विकेटको जित निकालेपछि नेपालका कप्तान खड्काले सञ्चारकर्मीहरुसँग कुरा गर्दै ओभरअल रुपमा आफू निकै खुसी भएको बताए । उनले सरद भेषावकर र विनोद भण्डारीले राम्रो ब्याटिङ गरेकाले जित सम्भव भएको बताए । आजको आफ्नो खेलबाट आफू निराश नभएको र आगामी खेलमा बढी योगदान दिनुपर्छ भन्ने महसुस गरेको उनको भनाइ थियो ।
कप्तान खड्काले कीर्तिपुरको आजको पिच फास्ट बलर र स्पिनर दुवैलाई कठिन भएको बताए । शरद र विनोदले धैर्यता अपनाएर खेलेको र ज्ञानेन्द्र मल्ललाई तीन नम्बरबाट ओपनिङ ल्याइएको रणनीति सफल भएको उनको ठम्याईं छ ।
कप्तान खड्काले दर्शकको उत्साहले पनि आफूहरुको जितमा साथ दिएको बताए । आगामी दिनमा पनि नेपाली टोलीले उत्कृष्ट प्रदर्शन गर्ने विश्वास उनले व्यक्त गरेका छन् ।