नयाँ शक्तिको मेलबर्न च्याप्टर पनि खुल्यो, संयोजक श्रीकृष्ण सिलवाल
अन्तर्राष्ट्रिय नेपाली समाज (आईएनएस) को भिक्टोरिया राज्य समिति गठन भएको छ । आइतबार मेलबर्नमा भएको एक भेलाले भिक्टोरिया कार्यसमितिको निर्माण गरेको हो । यसको संयोजक श्रीकृष्ण सिलवाल तोकिएका छन् भने अन्य ११ जना सदस्य समेत रहेका छन् । अन्तर्राष्ट्रिय नेपाली समाज भर्खरै नेपालमा गठन गरिएको नयाँ शक्तिको विदेशमा रहेका नेपालीहरुलाई समेट्नका लागि निर्माण गरिएको संगठन हो । अष्ट्रेलियामा समेत दर्ता गरिएको समाजको भिक्टोरिया च्याप्टरका अन्य सदस्यहरुमा ईश्वर कँडेल, अनिश सापकोटा, अर्जुन सापकोटा, सरोज पाठक, देव लामिछाने, नवराज अर्याल, थानेश्वर साउद, भानु भट्टराई, शर्मिला श्रेष्ठ र प्रविन चालिसे रहेका छन् । भिक्टोरिया भेलाको प्रमुख अतिथि नयाँ शक्तिका ओसेनिया क्षेत्रीय संयोजक शमिम अनवर हुनुहुन्थ्यो । अनवरले छिट्टै अष्ट्रेलियाका अन्य राज्यहरुमा समेत संगठन विस्तार गरिने र न्यूजिल्याण्डसहितका यस क्षेत्रका अन्य देशमा पनि समितिहरु बनाउने तयारी भइरहेको जानकारी दिनुभयो । यस्तै बैठकमा नयाँशक्ति अष्ट्रेलियाका संयोजक विनोद पौडेल लगायतले टेलिफोन मार्फत शुभकामना दिएका थिए । एमएनटीभीसँग कुरा गर्दै संयोजक सिलवालले नेपालको विकास र निर्माणमा विदेशमा रहने युवाहरुको प्रत्यक्ष सहभागिता र नीति निर्माण तहमा यहाँको ज्ञानलाई दिने अपेक्षाका साथ समिति निर्माण गरिएको बताए । स्मरणीय छ, सिलवाल नेप्लीज युथ एशोसिएसनका पनि अध्यक्ष हुन् ।