डार्विनमा वाक फर वेलफेयर सकियो, पारदर्शी परिचालन गर्ने लम्सालको प्रतिबद्धता
एक लाख डलरको विद्यार्थी कल्याणकारी कोष निर्माण गर्ने उद्देश्यका साथ अष्ट्रेलियाका विभिन्न शहरमा आयोजना गरिएको वाक फर वेलफेयरको डार्विन संस्करण सम्पन्न भएको छ । आइतबार डार्विनमा आयोजना गरिएको वाक फर वेलफेयरमा करिब सय जना सहभागी थिए । उनीहरुले ४ हजार डलर कोषमा जम्मा गरेको एनआरएन नर्दन टेरोटरीका संयोजक निरज गुरुंगले जानकारी दिएका छन् । पदयात्रापछि आयोजना गरिएको संक्षिप्त औपचारिक कार्यक्रममा संयोजक गुरुंगले स्वागत मन्तव्य दिएका थिए भने वाक फर वेलफेयर डार्विनको सहआयोजक नेप्लीज एशोसिएसन अफ नर्दन टेरोटरीका पदाधिकारीले धन्यवाद दिएका थिए । कार्यक्रममा बोल्दै एनआरएनका ओसेनिया क्षेत्रीय संयोजक महेन्द्र लम्सालले कोषको सञ्चालन र यसको पारदर्शिताको विषयमा धारणा राख्दै यो कार्यक्रम विद्यार्थीहरुका लागि अष्ट्रेलियामा रहेको नेपाली समूदायले गरेको कार्यक्रम भएको र अहिलेसम्मको सफलताबाट आफुहरु उत्साही रहेको बताउनुभयो । आगामी दिनमा यसको कार्यसञ्चालन र पारदर्शितामा अझ बढी ध्यान दिइने पनि लम्सालको भनाई थियो । यसैगरी एनआरएन अष्ट्रेलियाका प्रवक्ता डा. ज्ञानेन्द्र रेग्मीले विकेन्द्रीकरणको माध्यमबाट हरेक राज्यमा रहेका समितिहरुलाई सक्रिय बनाइने बताउँदै वाक फर वेलफेयरको सफल सञ्चालन त्यसैको उदाहरण भएको बताउनुभएको थियो । कार्यक्रममा चाल्र्स डार्विन युनिभर्सिटीका प्राध्यक्ष डा. किशोर शर्माले पुनित उद्देश्यका साथ सञ्चालन गरिएको वाक फर वेलफेयरको सफलताको कामना गर्नुभएको थियो । कार्यक्रमको सञ्चालन एनआरएन नर्दन टेरोटरीका सचिव बासुदेव मरहठ्ठाले गरेका थिए ।