वान्समोरको नारापछि कर्णदासले दोहोराएर गाए जिन्दगीको के भरोसा…


karna1कर्णदास नेपाली सुगम संगीतको एउटा अमिट नाम । करिब एक दशक लामो अन्तरालपछि उनले गीत संगीतको क्षेत्रमा पुनरागमन गरेका थिए । उनले यसको सुरुवात नेपालबाट नै गरेपनि अष्ट्रेलिया टूरमा उनले मनग्गे दर्शकको साथ र समर्थन समेत पाएका छन् । यसैक्रममा आइतबार मेलबर्ननमा आयोजना गरिएको उनको कन्सर्टमा लाईभ म्युजिकका साथ उनले करिब तीन घण्टा दर्शकहरुलाई मनोरञ्जन दिए । स्थानीय थनवरी थियटरमा आयोजना गरिएको कार्यक्रममा कर्णदासले ठूला ठूला महल हैन… बोलको गीतबाट सुरु गरेर जब अन्तिममा जिन्दगीको के भरोसा गीत गाएर विट मार्न खोजे तब दर्शकहरु यति धेरै उनको गीत संगीतमा झुमेका थिए कि उनीहरुले वान्समोरको नारा लगाएर उनलाई पुनः जिन्दगीको के भरोसा गीत गाउन बाध्य तुल्याएका थिए । यहाँ पाएको साथ र समर्थनबाट आफु निकै उत्साही भएको प्रतिक्रिया गायक कर्णदासले दिएका छन् । अन्त्यमा आयोजक सेभेन ईपिक ईन्टरटेन्मेन्टको तर्फबाट उज्वल घिमिरेले प्रायोजकसहित उपस्थित सबैलाई धन्यवाद दिएका थिए । जिन्दगीको के भरोसा गीत गाउँदा दर्शकहरु सबै उठेर उनलाई सम्मान गर्दै गीतमा झुमिरहेका देखिन्थे । गीतको हरेक शब्दमा डुबेर दर्शकहरु आफु पनि कर्णदाससँगै गाउँदै थिए । उपस्थित दर्शकहरुले कर्णदासका कालजयी गीतहरुका साथै नयाँ एल्बम समेत उपहार पाएका थिए । एल्बमबाट प्राप्त हुने सम्पूर्ण रकमलाई पोखराको बृद्धाश्रममा दिने योजना कर्णदासको रहेको छ । कर्णदासको यस पटकको मेलबर्न कन्सर्टका लागि उनीसहित करिब ८ जना वाद्यवादकहरुको टोली सिड्नीबाट आएको थियो । कार्यक्रमको सञ्चालन दिक्पालदेव पंगेनीले गरेका थिए । उनी भन्दै थिए यो सम्मान कर्णदासको आगमनको स्वागत हो, यो सम्मान एउटा कालजयी श्रष्टाको स्वागत हो । यसअघि स्थानीय कलाकारहरुले आफ्नो प्रस्तुति दिएका थिए ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?